११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा ६ पदाधिकारीका लागि निर्वाचन हुने भएको छ ।
सभापति पदमा रवि लामिछाने निर्विरोध चयन भएसँगै पार्टीको अबको ध्यान बाँकी ६ जना पदाधिकारीको चयनमा केन्द्रित भएको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि दोस्रो चरणको निर्वाचनमार्फत प्रतिस्पर्धा हुनेछ ।
रास्वपाको विधानले पदाधिकारी चयनका लागि निर्वाचन र मनोनयन दुवैको व्यवस्था गरेको छ । विधानअनुसार, एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह–प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह–कोषाध्यक्ष पद सभापतिद्वारा मनोनयन गर्ने अधिकार सुरक्षित छ ।
साथै, १५१ सदस्यीय केन्द्रीय समितिको संरचनामा ५१ जना सदस्य मनोनयन गर्ने अधिकार पनि सभापतिलाई नै दिइएको छ । प्रदेश पदाधिकारीहरू भने केन्द्रीय समितिमा पदेन सदस्यका रूपमा रहने व्यवस्था रहेको छ ।
पहिलो चरणको निर्वाचनमा सभापति निर्विरोध भएपछि, बाँकी पदाधिकारी चयनका लागि अब चुनावी प्रक्रिया अगाडि बढ्ने निश्चित भएको छ । पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिने क्रममा हुन लागेको यस प्रतिस्पर्धालाई रास्वपाको आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा हेरिएको छ ।

















