११ असार, काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरूले आफूहरूलाई सरकारले जबरजस्ती हटाउन खोजेको भन्दै कडा आपत्ति जनाएका छन् ।
सरकारले भोलि असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेपछि उनीहरू थप आक्रोशित बनेका हुन् । उनीहरूले आफूहरूलाई स्थायी बसोबासको विकल्प नदिइ निकालिएमा पुनः पुरानै स्थानमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
सरकारले सुकुम्बासीहरूलाई २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न भन्दै पाँच दिनको अल्टिमेटम दिएको छ । सोही रकम भुक्तानीका लागि बागमती सभ्यता एकीकृत विकास समितिले उनीहरूको बैंक खाताको विवरण माग गरेको छ, जसलाई सुकुम्बासीहरूले आफूहरूलाई पन्छाउने र हटाउने रणनीतिको रूपमा बुझेका छन् । हाल होल्डिङ सेन्टरभित्र फोटो र भिडियो खिच्न समेत रोक लगाइएको छ ।
सरकारको यस्तो शैलीप्रति असन्तुष्टि जनाउँदै पीडितहरूले सेन्टरबाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँसेका छन् । उनीहरूले भूमि समस्या समाधान समितिमार्फत लगत संकलन र प्रमाणीकरण गरी वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्ने माग राखेका छन् ।
साथै, स्थायी व्यवस्थापन नहुञ्जेलसम्म होल्डिङ सेन्टरमा उचित सेवा सुविधा हुनुपर्ने र आफूहरूलाई सुरक्षित विकल्प दिनुपर्ने उनीहरूको जोडदार माग छ ।

















