११, असार काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचनको कार्यतालिका फेरि फेरबदल भएको छ ।
निरन्तरको किचलो र आन्तरिक तयारीका कारण निर्वाचन तालिका पाँचौंपटक संशोधन गरिएको हो । नयाँ हेरफेरअनुसार अब पार्टीको केन्द्रीय पदाधिकारी चयनका लागि मध्यरातमा मात्रै मतदान हुनेछ ।
संशोधित तालिका अनुसार बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारी पदको फारम वितरण गर्ने कार्यतालिका तय गरिएको छ ।
त्यसलगत्तै साढे ७ बजे उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी विरोधका लागि साँझ ८ बजेसम्मको समय दिइएको छ ।
प्राप्त दाबी विरोधमाथि सवा ८ बजेसम्म जाँचबुझ गरिसक्ने र साढे ८ बजेसम्म उम्मेदवारहरूलाई नाम फिर्ता लिने अन्तिम अवसर दिइने निर्वाचन समितिले जनाएको छ ।
त्यसपछि पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम सूची बाहिरिएपछि सवा ९ बजेसम्मका लागि मौन अवधि तोकिएको छ ।
मौन अवधि सकिएलगत्तै राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।मध्यरातमा मतदान सकिएलगत्तै सवा १२ बजेदेखि नै मतगणना सुरु हुनेछ ।
निर्वाचन समितिले राति सवा १ बजेसम्म गणना सक्ने र राति साढे १ बजेभित्रै पदाधिकारी चुनावको अन्तिम मतपरिणाम घोषणा गरिसक्ने गरी तयारी थालेको छ ।
निर्वाचन तालिका पटक-पटक सर्दा महाधिवेशन प्रतिनिधिहरू भने मध्यरातसम्मै चुनावी प्रक्रियामा सहभागि हुनुपर्ने भएको छ ।

















