Logo

२९ असार, काठमाडौँ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलडाँडीमा वन्यजन्तुको आतङ्कले सर्वसाधारण त्रसित बनेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जङ्गलमा घाँस काट्न गएकी एक महिला आइतबार साँझ पाटेबाघको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।

प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला निवासी धनादेवी उपाध्याय बाघको निशानामा परेकी हुन् । उनी गाउँलेहरूसँगै निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा घाँस काट्न गएको बेला झाडीमा लुकेर बसेको बाघले अचानक आक्रमण गरेको थियो ।

बाघले आक्रमण गरेलगत्तै सँगै गएका अन्य साथीहरूले होहल्ला गरेपछि बाघ घाइतेलाई छाडेर जङ्गलतर्फ भागेको थियो । स्थानीय र प्रहरीको तत्कालको सक्रियतामा घाइते उपाध्यायको उद्धार गरिएको थियो।

बाघको नङ्ग्रा र दाँत लागेर उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि उनलाई थप र आकस्मिक उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको छ । हाल उनको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको र अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आवतजावत बढेकाले जङ्गल जाँदा र साँझ–बिहानको समयमा विशेष सतर्कता अपनाउन निकुञ्ज प्रशासन र सुरक्षा निकायले स्थानीय बासिन्दालाई आग्रह गरेका छन् ।


सम्बन्धित समाचार