Logo

२९ असार, हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरका नदी तथा खोलाहरूमा पानीको बहाव उच्च बनेपछि तटीय र जोखिमपूर्ण क्षेत्रमा दुर्घटनाहरू बढ्न थालेका छन् । यसै क्रममा सोमबार बिहान हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको भीषण बाढीले एक १२ चक्के ट्रकलाई बगाएको छ। बाढीले ट्रक बगाए पनि चालकले भने पौडिएर चमत्कारिक रूपमा आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।

प्रहरीका अनुसार हेटौँडा–१७ मा सञ्चालित शिवम् सिमेन्ट उद्योगबाट चुनढुङ्गा अनलोड गरेर फर्किँदै गरेको ना ७ ख ७६५ नम्बरको खाली ट्रक सोमबार बिहान ७:४५ बजेतिर कर्रा खोलाको बाढीमा परेको हो।

खोला तर्नका लागि ह्युमपाइप राखेर अस्थायी रूपमा बनाइएको कल्भर्ट (लच्का) माथिबाट पानीको ठुलो बहाव बगिरहेको थियो। जोखिम मोलेरै उक्त लच्का पार गर्न खोज्दा पानीको तीव्र चाप र बहावले भारी क्षमताको १२ चक्के ट्रकलाई सजिलै बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्ले जानकारी दिए।

खोलाले ट्रक बगाउन थालेपछि चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङले तत्कालै ट्रकको झ्यालबाट हामफालेर पौडिँदै किनारमा पुग्न सफल भएका थिए।

बाढीबाट बाँच्न सफल भएका चालक थिङको खुट्टामा सामान्य चोट लागेको छ । उनलाई उद्धार गरी हेटौँडा उपमहानगरपालिका–६ चौघडास्थित एक स्थानीय मेडिकलमा प्राथमिक उपचार गराइएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बाढीमा बगेको ट्रक कर्रा खोलाको बीच भागमा अड्किएको छ। पानीको बहाव अझै नघटेका कारण क्रेन र अन्य मेसिनरी साधनको प्रयोग गरी ट्रकलाई खोलाबाट बाहिर निकाल्ने प्रयास भइरहेको डीएसपी काफ्लेले बताए ।


सम्बन्धित समाचार