२९ असार,वीरगञ्ज । बारा जिल्लाको फेटा गाउँपालिका–१ भरवलियामा तातो तेलले पोलेर ३ वर्षीया बालिका घाइते भएकी छन्।
मंगलबार साँझ करिब ७:३० बजे स्थानीय कृष्ण मुखियाकी ३ वर्षीया छोरी दिव्यान्सी कुमारी आफ्नै घरमा खेल्ने क्रममा खाना पकाउन तताइएको तेलको कराहीमा अचानक ठोक्किँदा तातो तेलले उनको दाहिने हात पोलेको प्रहरीले जनाएको छ।
घटनामा बालिकाको दाहिने हात करिब ८ प्रतिशत जलेको छ। घाइते बालिकाको वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
घाइते बालिकासँग उनका हजुरबुबा शिवप्रसाद मुखिया रहेका छन्।
घटनाबारे अस्पतालबाट राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय प्रसौनी, बारालाई जानकारी गराइएपछि प्रहरी वरिष्ठ हवल्दार रामबाबु यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



















