इरानले खाडी मुलुकहरूलाई आफूविरुद्ध आक्रमणका लागि कुनै पनि सहयोग गरेमा बदला लिइने चेतावनी दिएको छ।
अमेरिकाले गरेको पछिल्लो आक्रमणविरुद्ध इरानको विदेश मन्त्रालयले सोमबार चेतावनी जारी गरेको हो। जसमा खाडीका देशहरूलाई भनिएको छ, ‘यदि इरानविरुद्ध सैन्य हमलामा कुनै पनि सहयोग गरे वा आफ्नो क्षेत्र प्रयोग गर्न दिएमा तिमीहरूलाई निसाना बनाइनेछ।’
इरानको सरकारी सञ्चारमाध्यममा जारी विज्ञप्तिमा विदेश मन्त्रालयले भनेको छ, ‘युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिन मात्र भएको छ, तैपनि अमेरिकाले खुला रूपमा सम्झौताका लगभग सबै प्रावधान उल्लंघन गरेको छ।’
इरानको विदेश मन्त्रालयले अमेरिकाले आफ्नो देशका यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवहक जहाज, मौसम विज्ञान भवन र अन्य सरकारी पूर्वाधारमा हमला गरेको दाबी गरेको छ। जसलाई इरानले ‘गम्भीर युद्ध अपराध’ भनेको छ।
इरानको विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘अन्तर्राष्ट्रिय कानुनअनुसार छिमेकी देशले कुनै पनि आक्रमणकारी मुलुकलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न दिन मिल्दैन।’
चेतावनी दिँदै अगाडि भनिएको छ, ‘इरानविरुद्ध आक्रमणमा भाग लिने वा समर्थन गर्ने कुनै पनि ठाउँलाई हाम्रो सेनाले निसाना बनाउनेछ।’
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ‘सम्झौता हुनै लागेका बेला’ अचानक इरानले एउटा जहाजमा ड्रोन हमला गरेको आरोप लगाएका छन्।
ट्रम्पले सीएनएनसँग भनेका छन्, ‘उनीहरू ९इरान० लगभग सबै कुरामा सहमत हुन तयार थिए तर फेरि दुई घण्टापछि एउटा जहाजमा ड्रोन आक्रमण गरे।’
इरानी अधिकारीहरूको आलोचना गर्दै उनले थपे, ‘यी मानिसहरूमा केही न केही समस्या छ।’ इरानले जहाजमा गरेको आक्रमणको जवाफमा अमेरिकाले ‘धेरै कडा आक्रमण’ गरेको उनले बताएका छन्।



















