Logo

२९ असार,वीरगञ्ज । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति तथा बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष ‘ज्योतिष सम्राट’ डा. पुरुषोतम दुबेले वीरगञ्जस्थित श्री गहवा माई मन्दिरमा आयोजना हुन लागेको चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ मा सहभागी हुन सम्पूर्ण श्रद्धालु तथा नगरवासीलाई आह्वान गर्नुभएको छ।

भानु जयन्तीका अवसरमा आयोजित शुभकामना कार्यक्रममा विशेष सन्देश जारी गर्दै डा. दुबेले आगामी असार ३२ गते र श्रावण १ गते हुने धार्मिक महोत्सवले सामाजिक सद्भाव, धार्मिक आस्था र आपसी ऐक्यबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले श्री गहवा माई मन्दिर वीरगञ्ज मात्र नभई समग्र मधेश प्रदेशकै जनआस्थाको प्रमुख केन्द्र रहेको उल्लेख गर्दै रथयात्रा र देवी आराधनाले समाजमा सकारात्मक ऊर्जा, मानसिक शान्ति तथा समृद्धि फैलाउने बताउनुभयो।

उहाँका अनुसार असार ३२ गते बिहान ७:३० बजे मन्दिर परिसरबाट रथयात्रा सुरु हुनेछ। रथयात्राको मुख्य आकर्षणका रूपमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिनेछ भने सोही दिन साँझ ६ बजेदेखि भव्य भजन सन्ध्याको आयोजना हुनेछ।

यस्तै, श्रावण १ गते बिहान ६ बजेदेखि ५६ भोग महापूजा तथा दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डाराको आयोजना गरिने कार्यक्रम रहेको छ। डा. दुबेले महाप्रसाद ग्रहणलाई धार्मिक दृष्टिले विशेष महत्त्वपूर्ण बताउँदै ठूलो सङ्ख्यामा सहभागी हुन श्रद्धालुहरूलाई आग्रह गर्नुभयो।

उहाँले रथयात्रालाई सभ्य, शान्तिपूर्ण र व्यवस्थित बनाउन नगरवासी, सामाजिक तथा धार्मिक सङ्घ–संस्था, व्यवसायी र युवाहरूलाई सक्रिय सहयोग गर्न आग्रह गर्नुभयो। साथै रथयात्राको दिन घर तथा व्यापारिक प्रतिष्ठान अगाडि कलश, तोरण र दीप प्रज्वलन गरी माताको स्वागत गर्न तथा श्रद्धालुहरूका लागि खानेपानी, सर्वतलगायत सेवामूलक कार्यमा सहभागी हुन पनि अपिल गर्नुभयो।

भानु जयन्तीका अवसरमा आयोजित शुभकामना कार्यक्रममा श्री गहवा माई रथयात्रा संयोजक बसन्त गुप्ता, विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल तथा पदाधिकारी एवं सदस्यहरू दीपु गुप्ता, आकाश गिरी, राजनकुमार गुप्ता, राहुल रौनियारलगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार