Logo

 ३० असार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री संसदमा उपस्थित भएर सरकारका कामकारबाहीबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्। उनले संसद् सरकारलाई जवाफदेही बनाउने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको बताए।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै दुलालले सरकार गठन भएको १०० दिन पूरा भइसकेको उल्लेख गर्दै अब प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जनतालाई आश्वस्त पार्नुपर्ने धारणा राखे।

“सरकारको १०० दिन पूरा भयो। मधुमास पनि सकियो। अब प्रधानमन्त्री संसदमा आउनुपर्छ र जनतालाई आश्वस्त पार्नुपर्छ,” उनले भने, “यो सदन मन्त्रीले सांसदलाई थर्काउने थलो होइन। संसद् सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले त्यसको जवाफ दिने ठाउँ हो। संसद् सरकारलाई जवाफदेही बनाउने संस्था हो।”

दुलालले बढ्दो महँगीको सबैभन्दा ठूलो असर श्रमिक तथा विपन्न वर्गमा परेको उल्लेख गर्दै बजारमा महँगी, कालोबजारी र बिचौलियाको प्रभाव नियन्त्रण गरी जनतालाई राहत दिने काममा सरकार केन्द्रित हुनुपर्ने बताए।

उनले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित विषय उठाउँदै राष्ट्रिय मानवअधिकार आयोगले प्रश्न उठाएका व्यक्तिलाई पुनः गृहमन्त्री नियुक्त गरिएको भन्दै त्यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे। गृहमन्त्रीको सम्पत्तिबारे छानबिन गरिएको भनिए पनि त्यसको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै उनले संसदलाई जानकारी गराउन आग्रह गरे।

“सरकारलाई आवश्यक लागेर गृहमन्त्री बनाइएको होला, तर सम्पत्ति छानबिन भएको भनिएको प्रतिवेदन कहाँ छ? त्यो सार्वजनिक हुनुपर्दैन? संसद्ले यसको जवाफ चाहन्छ,” उनले भने।

दुलालले भदौ २४ गतेका घटनामा थप अनुसन्धान अघि बढ्नुपर्नेमा अभियुक्तविरुद्धको मुद्दाको सुनुवाइ नै स्थगित गरिएको भन्दै राज्यले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए। प्रश्नबाट भागेर सुशासन सम्भव नहुने उनको भनाइ थियो।

सत्तापक्षका एक शीर्ष नेताले सरकार गठनपछि १०० दिनभित्र सरकार सञ्चालनको शैली देखाउने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै दुलालले व्यंग्यात्मक रूपमा आफूहरूले १०० दिनमा “धेरै ट्रेलर” देखिसकेको र अब “पूरा फिल्म” हेर्न चाहेको टिप्पणी गरे।

उनले सुकुम्बासी बस्तीमा बालबालिकाको रुवाबासी, होल्डिङ सेन्टरमा भएको अमानवीय व्यवहार, नागरिकमाथिको दमन तथा संसदमा प्रश्न उठाउने सांसदप्रति मन्त्रीबाट आएको चेतावनीजस्ता घटनाले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको दाबी गरे।

रास्वपा सभापति रवि लामिछानेले चितवनमा सम्पन्न महाधिवेशनमा सरकार सञ्चालनबारे दिएको अभिव्यक्तिलाई संकेत गर्दै दुलालले सरकारको ‘बल’ अन्ततः कुन दिशामा जाने भन्ने विषयमा आफूहरू प्रतीक्षामा रहेको टिप्पणी गरे।

उनले सरकारलाई संसद्प्रति उत्तरदायी, पारदर्शी र जनमुखी ढंगले अघि बढ्न आग्रह गर्दै जनताका सवालको स्पष्ट जवाफ दिन प्रधानमन्त्री स्वयं संसदमा उपस्थित हुनुपर्नेमा जोड दिए।


सम्बन्धित समाचार