Logo

१४ जेठ,सेढवा । पर्साको ग्रामीण क्षेत्रका किसान वर्षेबाली धान छर्नका लागि खेत तथा अन्य कृषिजन्य सामग्रीको तयारीमा लागेका छन् । लामो समयदेखि पानी नपरेकाले जमिन सुख्खा भएकाले किसानले ब्याडमा सिचाँई गर्न थालेका हुन् । धानवालीको बिउ उम्रिनका लागि जमिनमा आवश्यक मात्रामा पानी नभएका कारण ब्याड पटाउन लागेको जिराभवानी गाउँपालिका वडा नं १ का किसान सत्यदेव चौधरीले बताउनुभयो ।

अहिले ब्याडलाई सिचाँई गर्न नसके समयमा बिउ छर्न नसकिने र धानवालीको रोपाई पनि ढिलो हुन सक्ने उहाँको भनाई छ । यसका साथै ब्याड बनाउन छनौट गरिएका जग्गामा रहेका झारपात तथा अन्य बेकार वस्तुहरु छानेर फाल्न थालेको चौधरीले जानकारी दिनुभयो । अहिले किसानले भदई मंसुली, सोना मंसुली, सोना सारो, मनी मंसुली, हर्दीनाथ तथा हाई ब्रिड प्रजातिका धानबालीको बिउको ब्याडका लागि जग्गामा सिचाँई गर्न थालेका छन् ।

यी धानबालीका बिउको बेर्ना जेठ १७ गतेदेखि राख्ने गरिन्छ । सो बिउ २० दिनपछि रोपाईका लागि तयार हुने र असार १० गतेदेखि रोपाई शुरु हुने किसानले जानकारी दिएका छन् । किसानले विभिन्न जातका धानका बिउको खरिदको लागि नेपाली तथा भारतीय बजारहरुमा जान थालेका छन् । नेपाली बजारमा बिउ महंगो भएको भन्दै सिमावर्ती भारतीय बजारमा बिउको लागि धाउन थालेका हुन् ।

सिकटा, मेनाटाड, इनरवा, भंगहा, जमुनीया लगायतका भारतीय बजारमा नेपाली किसान बिउ खरिद गर्न जाने क्रम बढेको हो । यस क्षेत्रका केही गाउँपालिकाले किसानका लागि हर्दीनाथ र हाईब्रिड जातको बिउ पचास प्रतिशत अनुदानमा उपलब्ध गराउदैँ आएका छन् । त्यस्तै रोपाईको मौषम नजिकिदै जाँदा अहिले किसानले खेतको खनजोतमा लागेका छन् ।

उनीहरुले जमिनको खनजोत गर्नुको साथै खेतका आलीको सरसफाई तथा झारपात जम्मा गरी जलाउन थालेका हुन् । यसका साथै सिचाँईका लागि प्रयोग गरिने कुलोको सरसफाई पनि समेत गरिरहेका छन् ।


सम्बन्धित समाचार