Logo

१८ साउन,वीरगञ्ज । पछिल्लो समय पर्सामा अघोषित लोड सेडिङ हुन थालेको छ । कुनै सूचना बिनै नेपाल विद्युत प्राधिकरण बीरगन्ज वितरण केन्द्रले एक सातादेखि अघोषित लोड सेडिङ गर्न थालेको पाइएको छ ।

विद्युत प्राधिकरणले खासगरी बच्चाहरु पढ्ने समयमा, राती सुत्ने बेलामा तथा बढी गर्मीको समयमा विद्युत कटौती गरिरहेको छ ।  एकाएक लोडसेडिङ बढ्न थालेपछि ठाउँठाउँमा यसको विरोध मात्रै भइरहेको छैन, चौतर्फी आलोचना समेत भइरहेका छन् ।
सामाजिक सञ्जालदेखि लिएर चियाँ पसलसम्म विद्युत कटौतीबारे चर्चाको केन्द्रबिन्दू बनेको छ । लोडसेडिङका कारण खाना पकाउनदेखि लिएर सुत्न, विद्यार्थीहरुलाईसमेत कठिनाइ हुने गरेको अभिभावकहरुको गुनासो छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवासी अलि हुसेनले विद्युत कटौतीका कारण राती सुत्ने बेलामा धेरै कठिनाइ हुने गरेको बताउँछन् । उनले भने, ‘एसीमा सुत्ने बानी छ, बत्ति गएपछि एकदम छटपछाहट हुन्छ, किनकी एसी अर्को साधनले चल्न सक्दैन । त्यसकारण मलाइ सुत्न एकदमै ग्राह्रो हुन्छ ।’

मुर्लीका अरबिन्द गुप्ताको समस्या पनि उस्तै छ । बत्ति जान आउन थालेपछि धेरै सुत्न बस्न मात्रै नभइ अन्य कामकाजमा समेत प्रभाव पर्न थालेको उनको गुनासो छ ।
उनी भन्छन्, ‘के कति कारणले लोड सेडिङ भइरहेको छ ? त्यसको जानकारी पहिला हामीलाई दिनुपर्छ, नियम पनि यही हो । तर पछिल्लो समय झ्याप्पझ्याप्प बत्ति गइरहेको छ, जुन गलत कुरा हो । यी समस्याप्रति विद्युत प्राधिकरण गम्भीर हुनुपर्छ । नत्रभने अब जनता सडकमा आउँछन् ।’

विद्युत् कटौतीले सर्वसाधारणलाई सास्ती भएपनि प्राधिकरणले अझ पन्छिने प्रतिक्रिया दिएको छ । बीरगन्ज प्राधिकरण प्रमुख अबधेशकुमार दुबेले ‘भोल्टेज डाउन’ भएर करेन्ट बढेकाले समस्या आएको सुनाए ।
योसंगै बेला–बेलामा बिजुलीको मुख्य लाइन, बिजुलीको तार वा ट्रान्सफर्मर लगायतमा हुने आगजनीका कारण मर्मतसम्भार गर्न विद्युत कटौती गर्नुपरेको उनको दाबी छ ।

अत्यधिक गर्मी बढेसँगै विद्युतको माग बढ्दा आपूर्तिमा केही असहजता आएको उनको स्वीकारोक्ति छ । तराइ क्षेत्रमा यस बर्ष अत्यधिक गर्मी महसुस गरिएको छ । गर्मीसगै तातो हावाको लहर चलेर जिवन झन कष्टकर बन्दै गएको स्थानीय बताउँछन् । गत हप्तादेखि अचानक बढेको गर्मीका कारण सर्वसाधारण दिउँसो घर बाहिर निस्किन सकेका छैनन् ।


सम्बन्धित समाचार