Logo

१८ साउन, वीरगञ्ज । वीरगञ्जका सार्वजनीक सम्पत्ती र विभिन्न व्यक्तिको नाममा हकभोग कायम रहेका घरजग्गामा गिद्धे नजर लगाउने भूमाफिया विरुद्ध सरकारले कुनै कार्वाही नगरेको भन्दै सरोकारवाला जग्गाधनीहरु रुष्ट बनेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयामा पर्ने रेल्वे रोड स्थित नेपाल सरकारको नाउँमा रहेको ३२ कठ्ठा जग्गा, अलखिया मठसँगै रहेको माईदिया पोखरी (चिल्ड्रेन पार्क)को जग्गा, छपकैया पोखरी, वीरगञ्ज वडा नंं १० आर्दशनगरमा रहेको नगर विकास समितिका २१ मध्ये २० वटा प्लट, गीतामन्दिर, रामजानकी मन्दिरसँग जोडिएका सार्वजनिक जग्गाहरुमा भूमाफियाले कब्जा गर्न किर्ते कागजपत्र खडागरी किचलो गर्दै हिडेको अवस्थामा राज्यका निकायहरुको मौनताले माफियाहरुको दादागिरी बढन थालेको छ ।

वास्तविक फिल्ड र भोगचलनमा नभएका जग्गाको किर्ते कागजात तयार पारेर मालपोत र नापीका कर्मचारीको मिलेमतोमा भूमाफियाहरुले विभिन्न व्यक्तिको नाउँमा रहेका जग्गा र सार्वजनिक जग्गाहरु समेत हडप्ने योजनामा लागेको अवस्थामा सरकारले अधिकार सम्पन्न छानवीन आयोग गठन गर्नुपर्ने माग स्थानीयवासीको छ ।

अहिले नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा नेपाली कांग्रेस सहितको गठबन्धन सरकार छ । सरकारमा रहेका केही मन्त्रीहरुसँग भूमाफिया र विचौलीयाको मन्त्री क्वाटर देखि सिंहदवार भित्रको मन्त्रालय सम्म पहुँच छ । अहिले तिनै विचौलीया र दलालहरुले पर्साको मालपोत र नापीमा आफ्नो अनुकुलको कार्यालय प्रमुख ल्याउने दाउमा छन् ।

आर्दशनगर स्थित स्काईलाइन महलमा समेत किचलो खडा गरेर महलका संचालकसँग करोडौ रुपियाँ झार्ने ठेक्का लिएका नापीका पूर्व कर्मचारी संजय ठाकुर अहिले नापी र मालपोतका हाकीमको सरुवा गरी आफ्नो अनुकुलको अधिकृत राख्ने दाउँमा छन् । भूमाफियाको मतियारको रुपमा देखिएका ठाकुरले गएको फागुनमा महलका संचालकसँग एक करोड दिए किचलो छोड्ने भन्दै बार्गेनिङ गरेको महलका एक संचालकले बताए ।

नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी नापी अधिकृतमा बढुवा भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि ठाकुरले नापी अधिकृतबाट राजीनामा दिएका थिए । अहिले उनी विवादीत जग्गाको किचलो जिम्मा लिने र सरोकारबाला जग्गाधनीसँगको बार्गेनिङबाट करोडौं रुपियाँ उठाउने दाउँमा छन् ।

तीनै संजय ठाकुर अहिले मालपोत र नापीको हाकीमको सरुवामा लागिपरेका छन् । ठाकुरको मन्त्रालयका सचिव र प्रशासनिक निकायका उच्च तहका पदाधिकारीसँग राम्रो सम्वन्ध रहेको छ । त्यहीँ सम्वन्धलाई भजाएर उनले विवादीत बनाइएका जग्गाको कागजपत्र बोकेर दलालीमा लागेका छन् ।

पूर्व नापी अधिकृत संजय ठाकुर स्काईलाइन महलसँग जोडिएको १०५ कित्ता नम्वरबाट आएको कित्ता नम्वर ५४ र ५५ मा निखत प्रविण अंसारीको बारेस हुँ भन्दै महल संचालकसँग बार्गेनिङमा छन् । उनले रेल्वे लाइनमा रहेको छपकैया स्थित ३२ कठ्ठा सार्वजनीक जग्गा वीरगञ्ज ८ निवासी जगदीश साह कानूको हो भन्दै उसको वारेस बनेर मालपोत, नापी र महानगरपालिकामा धाउनेगरेको स्रोतको भनाई छ ।

वीरगञ्जमा सहकारीको रकम हिनामिना र दोहोरो नागरिकताबाट कारोवार गरेको आरोप लागेपछि भारतको मोतिहारीमा बस्दै आएकी विवादीत महिला हुन निखत प्रविण अंसारी । अंसारीको विवाह भारतको मोतिहारीमा भएको छ । उनले भारतीय नागरिक भएर नेपालमा विभिन्न कारोवारमा संलग्न रहेको भन्दै दोहोरो नागरिकतामा उजुरी परेपछि उनी वीरगञ्जमा सार्वजनकि रुपमा हिड्न र बस्न सक्ने अवस्था नभएको वीरगञ्ज महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्रले बताए ।

तीनै निखत प्रविण अंसारीको वारेस बताउदै नापी, मालपोत, महानगरपालिका र बैंकका कर्मचारीलाई धम्काउने काममा लागेका छन् संजय ठाकुर । उनको मुख्य उदेश्य नै किचलो काण्डबाट रकम उठाउनु हो । उनको झोलामा नेपालका विभिन्न स्थान देखि भारतका ठूला शहरमा जग्गा विवादको फाइलको चाङ छ ।

वीरगञ्जको अधिकांश व्यापारीक महलमा उनले किचलोको फाइल बनाएर मालपोत, नापी, नगरपालिका हुदै अदालत सम्म धाउने गरेका छन् । उनलाई महिनौं सम्म होटलमा बस्ने खाने र काठमाडौं सम्म धाउने खर्चको व्यवस्थापन कसले गरेको छ ? त्यसमा अनुसन्धान हुनुपर्ने माग वीरगञ्ज आर्दशनगरका जग्गाधनी शम्भु प्रसाद कलवारको छ ।

रेल्वे रोडसँग जोडिएको ३२ कठ्ठा सार्वजनिक जग्गामा वीरगञ्जका प्रतिष्ठीत व्यापारिक घराना केडिया समूहका बृजलाल केडियाको नाउँबाट ताराचन्द्र केडिया, शारदा शाह, मुकुल विक्रम शाह, जगदीश साह कानूको बारेस संजय ठाकुर, हरिनारायण गुप्ता, भारती सिंह ठकुरी समेतले हकभोग रहेको दावी गर्दै मालपोत, नापी हुर्दै सर्वोच्च अदालत सम्म पुगेका छन् । उक्त जग्गा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतका विभिन्न फैसलाबाट नेपाल सरकारको नाउँमा कायम भएको देखिन्छ ।

सर्लाही घर भएका संजय ठाकुर वीरगञ्जमा लामो समय देखि होटलमा बस्दै आएका छन् । केही समय अघि पुजन होटलमा बस्दै आएका उनी विगत २ महिना देखि होटल वृन्दावनमा बस्दै आएको बताइएको छ । काठमाडौं, बारा, पर्सा लगायत भारतका विभिन्न ठाउँमा समेत जग्गाको किचलो गर्ने र त्यसबाट करोडौं रुपियाँ उठाउने उनको मुख्य धन्दा हो । भारतको रक्सौलमा नेपालीका नाउँमा रहेका जग्गामा समेत चलखेल गरेको उनलाई चिन्ने वीरगञ्जका एक व्यवसायीले बताए ।

वीरगञ्ज महानगरपालिकाले सार्वजनीक र पर्ती जग्गा संरक्षणको अभियान संचालन गरेको वडा नं. ५ का वडा अध्यक्ष एवं अभियानका संयोजक प्रदीप चौरसियाले बताए । वीरगञ्ज महानगरपालिकाले विभिन्न व्यक्तिले अतिक्रमण गरेको करिव २ सय विगाहा जग्गा अतिक्रमणबाट मुक्त गराईएको वडा अध्यक्ष चौरसियाले बताए ।

नेपाल सरकारले सार्वजनीक जग्गा र सम्पत्तीको संरक्षणको जिम्मा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । वीरगञ्जका सार्वजनीक सम्पत्ती र विभिन्न व्यक्तिको जग्गामा किचलो खडा गर्ने भूमाफियालाई छानवीनगरी दोषिमाथि कार्वाही गर्नुपर्ने माग स्थानीयको छ ।

भूमाफियाको शक्ति केन्द्रमा जगजगी

नेपाल सरकारको नाउँमा कामय रहेको सार्वजनिक जग्गा व्यक्तिको नाउँमा हकभोग कायम गराउन विभिन्न भूमाफियाले आफूलाई दवाव दिएको भनाई मालपोत कार्यालय पर्साका प्रमुख डम्मरु निरौलाको छ । रेल्वेको जग्गा अख्यिार दुरुपयोग अनुसन्धान आयोगको निर्णय र अदालतको विभिन्न निर्णयबाट नेपाल सरकारको नाउँमा कायम रहको जग्गा व्यक्तिको नाउँमा हकभोग कायम गराउन नसकिने भनाई निरौलाको छ ।

स्काईलाइन महल र रेल्वे रोडको छपकैया स्थित ३२ कठ्ठा जग्गामा भूमाफियाको अनुकुलमा काम गर्न नसक्ने अडान लिएपछि मालपोत कार्यायल पर्साका प्रमुख  र नापी अधिकृतको सरुवाको लागि केही व्यक्तिहरु शक्ति केन्द्रमा धाउन थालेका छन् ।

भूमाफियाको मतियार बनेका संजय ठाकुर र मुकुल विक्रम शाह मालपोत कार्यालय पर्साका अधिकृत इजहार आलम र मालपोत कार्यालय सिमरामा कार्यरत राजेश्व साह तेलीलाइ साथमा लिएर कमर्चारीकाे सरुवामा लागिपरेकाे  भनाई छ ।

संजय ठाकुर र मुकुल विक्रम शाहले एक हप्ता भित्र दुवै कर्मचारीको सरुवा हुने ठोकुवा गरेको नापीको एक कर्मचारीले बताए । मालपोतमा हाल अधिकृतमा कार्यरत इजहार आलमलाई कार्यालय प्रमुखको जिम्मेवारी दिने र नापीमा सिराहबाट एक जना अधिकृत ल्याउने तयारी भएको स्रोतको भनाई छ ।

बाराको सिमरा स्थित मालापोत कार्यालयमा कार्यरत राजेश्वर साह तेली समेत पर्सा मालपोतमा आउन चलखेल गरेका छन् । मालपोतका सुब्वा राजेश्वर साह तेली करिव ७ बर्ष मालपोतको मुद्दा फाँटमा बसेर काम गरेका छन । संजय ठाकुरसँग मिलेर धेरै व्यक्तिको जग्गाको श्रेस्ता र अन्य कागजपत्र मिलाई दिएको आरोप तेली माथि लाग्ने गरेको छ ।

विचौलीयाको भूमिकामा देखिएका संजय ठाकुरले समस्यामा परेका व्यक्तिहरुको काममा सहजीकरणको भूमिका निर्वाह गरेको बताए । उनले अधिकांश मन्त्री र प्रधानमन्त्रीसँग आफ्नो राम्रो चिनजान रहेको दावी गरे । आफूले बिचौलियाको रुपमा काम नगरेको उनले जिकिर गरे ।


सम्बन्धित समाचार