Logo

१९ साउन,वीरगञ्ज । पर्साको ठोरीका सामुदायिक विद्यालयमा शृङ्खलाबध्द रुपमा एकपछि अर्को कमजोर नतिजा ल्याउने क्रम रोकिएको छैन् । कक्षा ८ को पालिका स्तरीय र कक्षा १० को एसईई परीक्षामा नतिजाकै कारण आलोचित बनेको ठोरीका सामुदायिक विद्यालयको अवस्था कक्षा १२ को नतिजामा पनि सुधार हुन नसकेको देखाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशन गरेको कक्षा १२ को नतिजाले ठोरीका सामुदायिक विद्यालयको नतिजा अघिल्ला परीक्षामा जस्तै कमजोर देखिएको छ । ठोरीका ५ ओटा विद्यालयबाट १९५ जना परीक्षार्थी सहभागी भएको कक्षा १२ को परीक्षामा २४ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् । देशभर करीब ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा ठोरीमा भने करीब १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका हुन् । ठोरी ४ मा रहेको मावि विजयवस्ती बाहेक अन्य विद्यालयको उत्तीर्ण दर १५ प्रतिशत पनि पुग्न नसकेको तथ्याङ्कले देखाएको छ ।

विजयवस्ती माविले भने करीब ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । २७ जना परीक्षार्थीले परीक्षा दिएकोमा १५ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएको सो विद्यालयले जनाएको छ । यस्तै ठोरी –१ को दिपकनगर प्रविधिक माविबाट ६५ जना सहभागीमा १ जना उत्तिर्ण (१.५३%), ठोरी –२ को सरस्वती मावि गौतमनगरबाट ३६ जना सहभागीमा १ जना (२.७७%) उत्तीर्ण भएका छन् ।

उता ठोरी –३ को नेरामावि ओडारबाट २७ जना सहभागीमा ४ जना उतिर्ण (१४.८१%) र ज्ञानवाटीका मावि सुवर्णपुरबाट ४० जना सहभागीमा ३ जना उतिर्ण (७.५०%) भएका हुन् । यस अघि कक्षा ८ को पालिका स्तरीय परीक्षा र कक्षा १० को एसईई परीक्षाको नतिजा समेत ठोरीमा कमजोर देखिएको थियो ।


सम्बन्धित समाचार