Logo

२२ साउन,वीरगञ्ज । पर्साको दुग्धेश्वर (भाटा बाबा) मन्दिरको नजिकबाट हिजो बेपत्ता भएका दुइ जना युवक अझ सम्पर्कमा आउन सकेका छैनन् । मन्दिरको नजिकैबाट सम्कर्पविहिन भएका दुबै युवक ४८ घण्टा भन्दा बढी भइसक्दा पनि सम्कर्पमा आउन नसकेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले (भाटा बाबा) मन्दिर नजिकैको जंगलबाट सम्पर्कविहिन भएका दुबै जना युवक आज दोस्रो दिनसम्ममा फेला नपरेको पुष्टि गरे । तर रेन्जपोष्ट, नेपाली सेना र प्रहरीसहितको टोलीले उनको खोजी गरिरहेको प्रहरी प्रवक्ता भारती बताउँछन् ।

मकवानपुरबाट भाटा बाबाको मन्दिरको दर्शनका लागि आइतबार राती ६ जना युवाहरुको टोली निस्केको थियो । जंगलको बाटो हिँडेका युवाहरुको टोलीमध्ये चार जना सम्पर्कमा आएको र २ जना मन्दिर नपुग्दै सम्पर्कविहीन भएको जनाइएको छ ।

पर्सा प्रहरीका अनुसार मन्दिरको करिब ५ किलोमिटर परैको जंगलबाट ती २ जना युवाहरु हराएको पर्सा प्रहरीले जानकारी दिएको छ । सम्पर्कविहीन भएका २ जना युवाहरुको खोजीका लागि पर्सा राष्ट्रिय निकुञ्ज, इलाका प्रहरी कार्यालय ठोरी र नेपाली सेनाका अधिकारीसहितको टोली परिचालित भएको प्रहरी बताउँछ ।

सम्पर्कविहीन भएका दुबै युवाहरुको परिचय भने अझै खुल्न नसकेको प्रहरी प्रवक्ता भारतीको भनाइ छ । साउन महिनाको खासगरी सोमबार भाटा बाबामा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।


सम्बन्धित समाचार