Logo

२९ साउन,वीरगञ्ज । वीरगञ्जको लिङ्करोडदेखि बसपार्कसम्म पानीको चरम अभावमा भएको छ । झण्डै ५ महिनादेखि यो एरियामा खानेपानीको चरम अभाव भएको हो ।

गर्मी सुरु भएदेखि नै धारा तथा चापाकलहरुमा पानी नआउँदा सास्ती भोग्नुपरेको जन गुनासो छ । करिब दुई सय घरधुरी रहेको यस क्षेत्रमा पानीको अभाव हुँदा सर्वसाधारणले समस्या झेल्नु परेको स्थानीय बताउँछन् ।
तरपनि खानेपानी संस्थानले समस्या समाधानप्रति तदारुकता देखाइरहेको छैन । पटकपटक खानेपानी संस्थानका कर्मचारीहरुलाई समस्याबारे जानकारी गराउँदासमेत समस्या समाधान गर्न बेवास्ता गरिएको गुनासो छ ।

बैशाखदेखि नै धारा तथा चापाकलमा पानी नआउँदा समस्या भएको लिङरोड निवासी गणेश पौडलले गुनासो पोखे ।

उनका अनुसार बैशाखदेखि नै धारामा पानी सुकेको छ । ‘चापाँकल र धारामा बैशाखदेखि नै पूरै पानी आउन बन्द छ । लामो समयदेखि जारको पानीमा भर पर्नुपरेको छ । जारको पानी पनि दूषित हुन्छ, उनले भने, खै शरीरमा कति असर गरिसक्यो होला । मोटर पनि चल्दैन, कतिपय जल्यो, बनाउँदा बनाउँदा हैरान भएर छाड्डिए । अहिले सरकारी धारा तथा जारको भरोसामा गुजारा चलिरहेको छ ।’

लिंक रोडस्थित नारायणी एफएमका दिपेन्द्र साहको पनि भनाइ उस्तै छ । उनले पानी नै सुक्दा दैनिकीँमा निकै समस्या आएको बताएका छन् । खानेपानी मात्र नभइ शौचालय जान समेत अहिले मुस्किल परेको गुनासो उनको छ ।
उनी भन्छन्, सधै अफिस आउनुपर्छ, दिनभर अफिसमै हुन्छौ । पानीको समस्या भयंकर छ । खाने मात्र हैन शौचालय जान समेत पानी छैन । कति गाह्रो हुन्छ । कतिपय साथीहरु त घर नै जानुपर्ने अवस्था आउँछ ।’

उनका अनुसार महिनौँ भयो धारा तथा चाँपाकलमा पानी नआएको । पटकपटक खानेपानीका कर्मचारीहरु आएर हेरेर गए, तर कुनै उपलब्धि नभएको उनको दुखेसो छ ।

नारायणी एफएमका स्टेशन मेनेजर निरज पिठाकोटे मगरका अनुसार चारपटक सम्म खानेपानी संस्थानका कर्मचारीहरु अवलोकन गर्न आए । तर कसैले पाइपलाइन पत्ता लगाउन नसकेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘चार पटकसम्म खानेपानी संस्थानबाट कर्मचारीहरु आउने जाने क्रममात्र भयो, तर पाइपलाइन फेला पार्न सकिएको छैन । पानी हाहाकारको समस्या ज्यूँकात्यूँ छ, पानी नै नहँदा कति असहज भएको छ ।’

के भन्छन् खानेपानी संस्थानका कर्मचारी ?

खानेपानी संस्थान कार्यालय वीरगञ्जले लिङरोडदेखि बसपार्क क्षेत्रसम्म चाँपाकल तथा धारा सुकेको स्विकारेको छ । २÷३ फिट गहिरो क्षेत्रमा पाइप जोड्न सहज हुन्छ तर यस क्षेत्रमा ८÷१० फिट गहिराईमा पाइप रहेकोले लाइन खोज्नै समस्या भएको कर्मचारीहरुको भनाइ छ ।

खानेपानी संस्थान कार्यालय वीरगञ्जका प्रमुख प्रविन कुमार साहका अनुसार यस क्षेत्रमा धेरै पुरानो पाइपलाइन छ । त्यसकारण सडक विस्तार तथा निर्माणका क्रममा पाइपलाइनहरु फुट्दा समस्या आएको उनी बताउँछन् ।
उनले भने, ‘यस क्षेत्रमा ४५/४६ वर्षदेखिको पुरानो पाइप छ, रोड बनाउँदा कति फुटेका छन् । अर्कोतर्फ त्यस एरियामा त ८/१० फिट तल पाइप छ, जसकारण पाइपलाइन खोज्न समस्या हुन्छ । तरपनि हामीहरु यो समस्याप्रति गम्भीर छौँ ।

अर्को प्रोजेक्टमार्फत पाइप जडान गर्नका लागि ठेक्का लगाइसकेका छौँ । सप्लायर्सले पाइप उपलब्ध गराउने बित्तिकै यथासिघ्र नै यसको समाधान गर्नेछौँ ।’


सम्बन्धित समाचार