Logo

३१ साउन, बारा । बालिका उपर सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बाराको निजगढबाट दुईजनालाई पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निजगढ नगरपालिका–४ का ३३ वर्षीय सन्जोग खतिवडा र निजगढ–५ का २७ वर्षीय दिनेश चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

पिडित बालिकाले ति दुईलाई सनाखत समेत गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निजगढकै एक सामुदायिक विद्यालयमा अध्ययनरत बालिका मंगलबार गृहकार्यको काँपी लिन घर जाने क्रममा सामुहिक बलात्कारको सिकार बनेकी थिइन् ।

‘दिउँसो करिब १२ः३० मा उनी साइकल लिएर गृहकार्यको काँपी ल्याउँछु भन्दै घर गएकी थिइन्, त्यसको केहिबेरमै यस्तो घटना भएको थाहा पाउँदा मुटु हल्लियो ।’ सोहि विद्यालयकी शिक्षिकाले भनिन् । उनले थपिन् ‘कसरी सुरक्षीत ठान्ने यो नगरलाई ? कसरी बचाउने नानीहरुलाई ?’

बलिकाले विद्यालयबाट घर आउँदा दुईजना पुरुषले बलात्कार गरेको भनेर परिवारसँग बताएपछि अभिभावक र आफन्त प्रहरीकोमा पुगेका थिए । परिवारजनका अनुसार मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसले पहिले केही पैसा र मिठाई दिएर नजिक बनेको र आफूमाथि जबर्जस्ती करणी गरेको उनले बताएकी थिइन् ।

‘जिल्ला ३३ ८१÷८२ ख’ को उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय निजगढले खतिवडालाई मंगलबार नै राति ११ बजे साथिको घरबाट र चौलागाईंलाई घर नजिकैबाट पक्राउ गरेको हो । पक्राउ परेको मध्ये खतिवडा केही समय अगाडी मात्रै लागुऔषध मुद्धामा जेल सजाय काटेर छुटेको प्रहरीले जनाएको छ । उनीहरू माथी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

पिडित बालिकाको निजगढ स्थित सामुदायिक अस्पतालमा शारीरिक परीक्षण गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । चिकित्सकले परिक्षणबाट बलात्कार पुष्टि गरे पछि थप परीक्षण प्रादेशिक अस्पताल कलैयामा भएको साथै घटनाबारे थप अनुसन्धान भई रहेको उनले बताए ।

यसैबिच विद्यालयले बुधबार एक सुचना जारी गरि अभिभावलाई आफ्ना नानीबाबुहरूलाई १० बजेभित्र सुरक्षीत तवरले विद्यालयमा प्रवेश गराउन आग्रह गरेको छ । विद्यालयले कक्षा सुचारु हुने अवधीभर विद्यालयको गेट बन्द रहने जानकारी गराउनुका साथै कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुलाई ३ः२० देखि ३ः३० भित्र लिन आउन समेत भनेको छ ।


सम्बन्धित समाचार