Logo

३१ साउन,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित तीन कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको हो । काठमाडौँको ग्लोबल इन्टरनेसनल, ललितपुरको नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टियम अफ कलेज र जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङमा विद्यार्थी भर्ना गर्न नमिल्ने निर्णय बैठकले गरेको हो ।

मन्त्रालयका अनुसार ग्लोबलले सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको, कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र नेपाल एजुकेसन फाउन्डेसन स्थानान्तरण प्रक्रियामा रहेकाले विद्यार्थी भर्ना गर्न नमिल्ने भएको हो । यी कलेजमा सिभिल इन्जिनियरिङ, बीबीए, एमबीए, सूचना प्रविधिलगायत विषय पठनपाठन हुँदै आएको थियो ।

शिक्षा मन्त्रालयले विद्यार्थी भर्ना हुन मिल्ने विदेशी सम्बन्धनका ५६ कलेजको सूचीसमेत सार्वजनिक गरेको छ । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखापरीक्षण र कर चुक्ता गरेका, नियमअनुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेका कलेजको सूची सार्वजनिक गरिएको हो ।


सम्बन्धित समाचार