
४ चैत,काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीले पञ्चायती व्यवस्थाको जस्तो कार्यशैली देखाएको भन्दै बाराका सांसद कृष्णकुमार श्रेष्ठले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सोमबार संसदको आकस्मिक समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद श्रेष्ठले बाराका सिडिओ बसन्त अधिकारीका कारण बारा जिल्ला र खासगरी आफ्नो क्षेत्र बारा ४ का जनताले अनावश्यक दुःख पाईरहेको आरोप लगाए । ’बारा जिल्ला त्यसमा पनि खासगरी मेरो निर्वाचन क्षेत्रका व्यवसायी र आम नागरिकले प्रशासनबाट अनावश्यक दुःख झेली राख्नुपरेको छ म गृहमन्त्रीज्यु मार्फत बारा जिल्ला प्रशासनलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गर्दछु’, सांसद श्रेष्ठले भने ।
बाराको जीतपुरमा गत चैत १ गते राती भएको हवाई फायर काण्डका सम्बन्धमा सांसद श्रेष्ठले बाराका प्रमुख जिल्ला अधिकारीले पिडकलाई उन्मुक्ती दिएर पिडितलाई थुन्ने मनसाय राखेको आरोप लगाए । ’पञ्चायती शासनलाई समेत माथ ख्वाउने गरी बाराका सिडिओले काम गरिरहेका छन् । म यस सम्मानित सदन मार्फत जीतपुर घटनाको सत्यतथ्य छानबीन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउन गृहमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु’, सांसद श्रेष्ठले भने ।