
६ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रले २५ करोड रुपैयाँ बरामद भएको घटनाको छानबिन गर्न विशेष छानबिन समिति गठन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले यति ठूलो तस्करीमा माथिल्लो तहको संलग्नता बिना सम्भव नहुने भन्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।
उनले भने, ’हामी प्रतिपक्षले यो सरकार सुशासनप्रति इमानदार छैन, यो सरकारप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेकै थियौं र छौं । संगठित अपराधको जालो कुन रूपमा संगठित भएर झांग्रिहेको छ भन्ने कुराको चित्र आएको छ । यो घटनामा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन।’
सापकोटाले अहिलेसम्म भरिया र चालकलाई मात्र पक्राउ गरेर ठूलो काण्डलाई ढाकछोप गर्ने गरिएको आरोप लगाए । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेकाले विशेष छानबिन समिति गठन गरेर जोसुकै भए पनि कारबाही गर्न माग गरे।
हिजो २५ करोड रुपैयाँसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा पक्राउ परेका थिए।