१६ बैशाख, सेढवा (पर्सा) । पर्सामा सिंचाइका लागि सङ्घीय सरकारले ल्याएको आयोजना सात वर्षदेखि अलपत्र परेको छ। पर्सा राष्ट्रिय निकुञ्जमा रहेको घोडेमसान खोलाबाट सिंचाइका लागि पानी ल्याउने योजना अलपत्रमा परेको हो ।
जीराभवानी र ठोरी गाउँपालिका अन्तर्गतका खेतीयोग्य जमीन सिंचाइका लागि उक्त आयोजना करीब १८ करोड रुपियाँको लागतमा निर्माण हुने योजना थियो । तर विगत आठ वर्षदेखि उक्त आयोजना अलपत्र अवस्थामा छ ।
मानवबस्तीबाट १७ किलोमिटर टाढा जङ्गलभित्र रहेको घोडेमसान खोलाबाट पानी ल्याउन जङ्गल भित्र र बाहिर कुलो निर्माण कार्य आ.व. २०७३/७४ मा शुरु गरिएको निर्माण समितिका सचिव सूर्य कोइरालाले जानकारी दिए । निकुञ्जभित्र कुलो निर्माण कार्यको लागि ६५ लाख र बाहिर कुलो निर्माण कार्यको लागि ८५ लाख रुपियाँ लगानी भएको सचिव कोइरालाले बताए । सिचाईका लागि पानी ल्याउन कतिपय खहरे खोलामा पक्की साइफन (अन्डरग्राउन्ड कुलो) समेत निर्माण गरिएका छन् ।
जङ्गलभित्रभन्दा बाहिर ठोरी गाउँपालिका वडा नं ५ मा पर्ने गडुवालाइन, क्षेत्रीलाइन, छिरिङलाइन, सुवर्णपुर, प्रधानटोल, बथेटोललगायतका क्षेत्रमा कुलो निर्माण गरिएका थिए । यसका साथै डिभिजन वन कार्यालय, पर्सा अन्तर्गतका वन र जीराभवानी गाउँपालिकामा पर्ने शान्तिनगर, हरैया, काठमाडौंटोल, वसन्तपुर, सखुवनिया क्षेत्रमा कुलो निर्माण गरिएका थिए ।
सो समयमा निर्माण गरिएको करीब ४० किलोमिटरभन्दा बढी लामो कुलो पुरिएर हाल समथर बनेको शान्तिनगरका रविमोहन सापकोटाले बताए । सिंचाइ आयोजनाको काम बन्द हुँदा यस क्षेत्रका किसानहरू निराश भएका छन् । पानी नपरेर खडेरी परेको बेला ठूलो रकम खर्च गरी सिंचाइ गर्ने झन्झटबाट मुक्ति पाउने आसमा यहाँका किसानहरू छन् । तर कछुवाको चालमा भएका निर्माण कार्य र हाल आयोजनाको काम नै बन्द हुदा किसानहरू निराश छन् ।
यो आयोजना पूर्ण भएमा करीब एक हजार पाँच सय हेक्टर जमीनका एक हजारभन्दा बढी किसान लाभान्वित हुनेछन् । सिंचाइ डिभिजन कार्यालय, पर्साका तत्कालीन प्रमुख राजकुमार खङ्गले यस योजनाको निर्माण कार्य शुरू गराएका थिए । तर खङ्गको सरुवा भएपछि सिंचाइ डिभिजन कार्यालयले कुनै वास्ता नगरेको निर्माण समितिका सदस्य भीमबहादुर पाख्रिनले बताए ।
आयोजनाको बाँकी कार्यको लागि थप बजेट विनियोजनका लागि प्रदेश तथा सङ्घीय सांसदसँग पटकपटक आग्रह गरे पनि कसैले कुनै वास्ता नगरेका समितिका सदस्यहरूले गुनासो गरेका छन् ।
आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म कुनै पनि कार्य नगरिएको समितिका सदस्यहरूले बताएका छन् । उक्त आयोजना संचालनका लागि संघीय सरकारले बर्षौदेखि बजेट बिनियोजन नगरेका कारण उपभोक्ता समिति पनि निशक्रिय भएका र पहिले गठित समितिको अध्यक्ष जरी लामाको पनि स्वर्गवास भइसकेको स्थानीयले बताएका छन् । उक्त कुलोबाट साबिक गाविस सुवर्णपुर, महादेवपट्टि, सेढवा र शङ्करसरैयाका किसानहरू प्रत्यक्ष लाभान्वित हुने देखिन्छ ।

















