३ साउन, जनकपुरधाम । लामो समयदेखि वर्षा नहुँदा मधेस प्रदेशका ८ जिल्लामा धान रोपाइँ प्रभावित भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती जिल्लामा प्राविधिक टोली पठाउने निर्णय गरेको छ ।
शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका निकायसँग आकस्मिक छलफल गरी प्रत्येक जिल्लामा केन्द्रबाट दुई–दुई जना कृषि प्राविधिकको टोली खटाउने निर्देशन दिएका हुन् । टोली आइतबारदेखि प्रभावित जिल्लामा पुग्नेछ ।
मन्त्रालयका अनुसार टोलीले हालको अवस्था, समस्याका कारण, तत्कालीन तथा दीर्घकालीन समाधानका उपायहरूबारे अध्ययन गर्नेछ। साथै, प्रदेश सरकारका कार्यक्रम तथा आयोजनामा कार्यरत कर्मचारीहरूसँग समन्वय गर्दै रिपोर्ट तयार पारिनेछ ।
मधेस प्रदेश सरकारले केही दिनअघि वर्षा नहुँदा खानेपानीसमेतको अभाव र धान रोप्न नसकिएको कारण सुख्खा प्रभावित क्षेत्र घोषणा गरिसकेको छ । कृषि मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म मधेस प्रदेशमा करिब ४६ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ ।
मन्त्री अधिकारीले यदि आगामी केही दिनभित्र पर्याप्त वर्षा नभएमा संघ, प्रदेश र स्थानीय तहले मिलेर विकल्प खोज्नुपर्ने आवश्यकता औंलाए । “हाल रहेका सिँचाइ संरचनाहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुका साथै सिँचाइका सम्भावित वैकल्पिक उपायहरूबारे तत्काल निर्णय गर्न सम्बन्धित निकायहरूसँग छलफल गरिनेछ,” मन्त्री अधिकारीले भने ।
मन्त्रालयले समस्या समाधानका लागि तत्काल कार्यान्वयनमा लैजान सकिने योजनाहरू तयार पार्ने प्रतिबद्धता जनाएको छ।

















