३ साउन,वीरगञ्ज । यस वर्ष बारामा साउनको पहिलो सातासम्म जम्मा ७५ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। मनसुन समयमै सक्रिय नहुँदा कृषकहरू चिन्तित बनेका छन् भने खेतीमा गम्भीर असर देखिन थालेको छ।
प्रत्येक वर्ष यही समयमा करिब ८५ देखि ९० प्रतिशतसम्म रोपाइँ भइसक्ने गर्दथ्यो। तर कृषि ज्ञान केन्द्र, कलैया बाराका अनुसार हालसम्म जिल्लाभर ४६ हजार २० हेक्टर क्षेत्रफलमध्ये ३४ हजार ५१५ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको हो।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश महराका अनुसार वर्षा नहुँदा किसानहरू वैकल्पिक सिँचाइ स्रोत प्रयोग गर्न बाध्य भएका छन्। “अधिकांश ठाउँमा मोटर पम्प, दमकल तथा नहरको भरमा रोपाइँ भइरहेको छ,” महराले बताए।
कलैया उपमहानगरपालिका–१०, नीलकण्ठवासी किसान अनिरुद्ध प्रसाद कुशवाहाले रोपिएको खेतसमेत सुक्न थालेको बताए। “खेतमा रोपाइँ त ग¥यौं, तर पानी नहुँदा धान उम्रन सकेको छैन,” उनले गुनासो गरे।
कृषि विज्ञहरूले यदि यही अवस्था केही हप्ता भएमा जिल्लाको धान उत्पादनमा ठूलो गिरावट आउने सम्भावना रहेको बताएका छन्। यस्तो अवस्थालाई ध्यानमा राख्दै उनीहरूले सरकार तथा स्थानीय तहलाई वैकल्पिक सिँचाइ सुविधा, प्राविधिक सहयोग तथा राहत उपलब्ध गराउन आग्रह गरेका छन्।
खडेरीले बाराका कृषकहरूलाई अन्यौलमा पारेको छ भने आगामी दिनमा खाद्यान्न आपूर्तिमा पनि असर पर्ने चिन्ता बढ्न थालेको

















