Logo

१० साउन,वीरगञ्ज । नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष मनसुनको प्रतिकूलताका कारण धान रोपाई गम्भीर रूपमा प्रभावित भएको छ। मधेश प्रदेशअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार, हालसम्म प्रदेशमा जम्मा ४७ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ।

महोत्तरीमा किसानको चिन्ता

लामो समयदेखि पानी नपर्दा महोत्तरीका किसानहरू धान रोपाई गर्न नपाएर चिन्तित छन्। जिल्लामा हालसम्म करिब ३० प्रतिशत मात्र रोपाई भएको छ। दश नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ।

जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानहरूले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवा, स्यालो ट्युबवेलको सहयोगमा करिब २५ प्रतिशत रोपाई गर्न सफल भए पनि, समग्र जिल्लाको रोपाईको अवस्था सन्तोषजनक छैन। पानी नपर्दा किसानका धानका ब्याडहरू सुक्न थालेका छन् भने केही स्थानमा रोपेका खेतमा समेत धाँजा फाट्न थालेको छ।

मधेश प्रदेश ’विपद् संकटग्रस्त क्षेत्र’ घोषित

मधेश प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (जुलाई २५, २०२५) मधेशको सुक्खाग्रस्त क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेका छन्। प्रधानमन्त्री ओली महोत्तरी र बाराका विभिन्न कार्यक्रममा पनि सहभागी हुनेछन्, जहाँ उनले किसानहरूसँग कुराकानी गर्ने बताएका छन्।

खानेपानीको अभाव र किसानको निराशा
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका वडा नं. ७ र ८ का अधिकांश खेतहरू सुक्खा छन् भने पम्पसेटको सहायताले रोपाई गरिएका खेतहरूमा पनि धाँजा फाटेका छन्। सोही गाउँका स्थानीय इस्लाम कवाडीका अनुसार, यस वर्ष खेतीका लागि मात्र नभई पिउनका लागि पनि ह्यान्डपम्पमा पानी आउन छोडेको छ। “खेती पनि आकाशको पानीको भरमा गर्नु पर्ने, खै यो साल त खेती हुँदैन होला,“ उनले निराशा पोखे।

स्थानीय शान्ति खतवाको खेतमा पनि यस वर्ष खडेरी र सुक्खाका कारण खेती हुन सकेको छैन। “पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपाई गरे पनि हामीहरू आकाशको पानीमै भर पर्नु प¥यो,“ उनले पीडा सुनाइन्।हाल, यस क्षेत्रका किसानहरू पानीका लागि प्रार्थना गरिरहेका छन् भने कोही स्थानीय सरकार लगायत सम्बन्धित निकायको सहयोग र सहायताको प्रतीक्षामा छन्।


सम्बन्धित समाचार