१२ साउन, काठमाडौँ । देशभर आइतबारसम्म ७८.८४ प्रतिशत कृषियोग्य भूभागमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । रोपाइँ सिजनको महत्वपूर्ण समय मानिने साउन पहिलो साता पार गरिरहँदा अधिकांश प्रदेशमा रोपाइँले तिव्रता लिएको छ ।
मन्त्रालयका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रोपाइँ उत्साहजनक देखिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपिएको छ। यस्तै कर्णाली प्रदेशमा पनि ९१.३८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ ।
बागमती प्रदेशमा ८७.१९ प्रतिशत, गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत र कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।
तर मधेश प्रदेशमा भने पानीको अभावका कारण रोपाइँको गति सुस्त देखिएको छ। हालसम्म मधेशमा ५१.८२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यही कारणले गर्दा यो वर्षको समग्र रोपाइँ दर गत वर्षको तुलनामा केही कम रहेको मन्त्रालयको विश्लेषण छ। गत वर्ष साउन १३ गतेसम्म देशभर ९२.६ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो ।
मन्त्रालयका अनुसार आगामी दिनमा मौसम अनुकूल भए बाँकी भूभागमा पनि रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ । धान नेपालको मुख्य खाद्य बाली भएकाले समयमै रोपाइँ सम्पन्न गर्नु उत्पादन वृद्धिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

















