१६ साउन,काठमाडौं। कुनै समय पहाडी क्षेत्रका पाखोबारीमा प्रशस्त मात्रामा देखिने कोदो खेती अहिले लोप हुँदै गएको छ। मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो बालीप्रति किसानको आकर्षण घट्दै जाँदा यसको उत्पादनमा पनि ठूलो गिरावट आएको छ। पहाड छोडेर मानिसहरू तराईमा बसाइँ सर्ने र पहाडमै रहेकाहरूले पनि भातलाई प्राथमिकता दिन थालेकाले कोदोको महत्त्व घट्दै गएको हो।
कोदोको महत्त्व र फाइदा
कोदोलाई औषधीका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यो पोषक तत्त्वले भरिपूर्ण हुने भएकाले यसका परिकार सजिलै पच्ने हुन्छन्। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन बी र फाइबरजस्ता महत्त्वपूर्ण तत्त्वहरू पाइन्छन्, जसले शरीरलाई ऊर्जा र शक्ति दिन्छ।
कोदोका परिकार खाँदा तौल नियन्त्रण गर्न सहयोग पुग्छ। यसले धेरै समयसम्म भोक लाग्न दिँदैन। साथै, मुटु रोगीहरूका लागि पनि कोदोको रोटी लाभदायक मानिन्छ, किनभने यसमा पाइने नियासिनले कोलेस्ट्रोल घटाएर मुटु रोगको जोखिम कम गर्छ। यसमा रहेको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ।
कोदोमा पाइने प्रशस्त क्याल्सियमले हाड बलियो बनाउँछ भने आइरनले रक्तअल्पता हुनबाट बचाउँछ। कब्जियत र ग्यासको समस्या भएकाहरूले कोदोको रोटी वा ढिँडो नियमित खाँदा आराम मिल्ने गर्छ। मधुमेहको खतराबाट बच्न पनि कोदो लाभदायक छ।
किसानको घट्दो रुचि र बढ्दो आयात
कोदोको यस्ता थुप्रै फाइदा हुँदा पनि किसानहरूले यसको खेती गर्न छोड्दै गएका छन्। अहिले केही ठाउँमा बीउसम्म पाउन मुस्किल हुन थालेको किसानहरू बताउँछन्। फाट्टफुट्ट खेती गरे पनि त्यो घरको प्रयोजनका लागि मात्रै सीमित हुन पुगेको छ।
बझाङको छबिस पाथिभेरा गाउँपालिकाका किसान कटक थापाका अनुसार, अहिले सहरमा स्वस्थकर खानाका रूपमा कोदोको माग बढ्दै गए पनि किसानहरूले यसको खेती गर्न छाडिसकेका छन्। पहिले कोदो खेतीमा जीवन बिताएकी जलुदेवी कडायतले पनि अहिले गाउँमा कोही कसैले कोदो लगाउन छोडेकोमा दुःख व्यक्त गरिन्।
ग्रामीण भेगमा सडक सञ्जाल विस्तार भएपछि सहरबाट चामल, गहुँजस्ता खाद्यान्न भित्रिन थालेकाले पनि कोदो, जौ र फापरजस्ता पोषिला अन्नहरू लोप हुँदै गएका छन्।
नेपालमा कोदो उत्पादन घट्दै जाँदा विदेशबाट आयात भने बढ्दै गएको छ। सरकारी तथ्यांकअनुसार, आर्थिक वर्ष २०७६÷७७ मा ७ करोड १५ लाख बराबरको कोदो आयात भएको थियो भने आर्थिक वर्ष २०८०÷८१ मा यो बढेर ७५ करोड ४४ लाखभन्दा बढी पुगेको छ। यसले नेपालमा कोदोको बढ्दो माग र घट्दो उत्पादनको अवस्था देखाउँछ।
कृषि विज्ञहरूले नेपालमा कुपोषणको समस्या कम गर्न कोदोसहित अन्य पोषिला बालीहरूको उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। रासायनिक मल वा विषादीको प्रयोग आवश्यक नपर्ने भएकाले पनि कोदो खेती स्वस्थकर र देशका लागि फाइदाजनक मानिन्छ।

















