प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ साउन,विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध मात्रै भएको बताएका छन्। शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त आरोप निराधार भएको दाबी गरेका हुन्।

’मेरो कुनै भ्रष्टाचारको केस नै होइन। यो मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’ उनले भने, ’यो राजनीतिक पूर्वाग्रह र प्रतिशोध हो भन्ने कुरा सबैले बुझेका छन्। मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।’

माओवादीसँग एकताको सम्भावना छैन
अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकताका लागि कुनै छलफल नभएको पनि स्पष्ट पारेका छन्। उनले माओवादीसँग सहकार्यको मात्र कुरा भइरहेको उल्लेख गर्दै भने, ’अहिले एकीकरणको कुरै भएको छैन, सहकार्यको मात्र कुरा भएको छ।’ दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने गरी समाजवादी मोर्चालाई निरन्तरता दिनेबारे भने छलफल भइरहेको उनले बताए।

ओली सरकार र एमालेमाथि टिप्पणी
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश पीडामा परेको आरोप लगाएका छन्। ’यो सरकार सबै कुरामा असफल भइसकेको छ। ओलीको दम्भ, अहंकार, गलत नीति र गलत कामले देश पीडित छ,’ उनले भने, ’जबसम्म ओलीलाई बिदा गरिँदैन, तबसम्म देश मुक्त हुने स्थिति बन्दैन।’

उनले ओली र शेरबहादुर देउवा मिलेसम्म वर्तमान सरकार परिवर्तन सम्भव नभएको पनि बताएका छन्। ओलीको कारण नेकपा एमालेभित्र पनि ’तमासा’ भइरहेको भन्दै उनले भने, ’एमालेको तमासा हेर्दै जानुस्, ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छोड्छन्। उनले देशकै लागि ठूलो हानी गराउन सक्छन्।’


सम्बन्धित समाचार