१६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीको नीति र निर्णय विरुद्ध अभिव्यक्ति दिएको भन्दै पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले एमाले विभाजन गर्नु गलत थियो भन्ने खनालको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। ‘उहाँले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ। नैतिकताको आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ नेपालले भने। उनले खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमानेको आरोप पनि लगाएका छन्। नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली एकै ठाउँमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको पनि बताए।
साथै फरक प्रसंगमा नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधान र कानुनले रोक नलगाएकाले यो उनीहरूको व्यक्तिगत निर्णयमा भर पर्ने बताएका छन् ।

















