१६ साउन,बारा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाई.सिएल) नेपालले जिल्लामा बढ्दो भ्रष्टाचारप्रति गम्भीर आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
वाई.सिएल बाराका अध्यक्ष शुभ नारायण पटेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै जिल्लाका सरकारी निकायहरूमा व्याप्त भ्रष्टाचार तत्काल नियन्त्रण गर्न माग गरेको हो।
ज्ञापनपत्रमा स्थानीय तह, यातायात कार्यालय, मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका सेवाप्रदायक संस्थाहरूमा सेवाग्राहीहरूबाट घुस लिने, ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट दिने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरिएको छ।
वाई.सिएलले यस्तो अवस्थाले सर्वसाधारण नागरिकको अपमान भएको र यसप्रति सुधार नभए सशक्त आन्दोलनमा उत्रिनुपर्ने बाध्यता आउने चेतावनीसमेत दिएको छ।
वाई.सिएल बाराका उपाध्यक्ष हरि रिजालले भ्रष्टाचारविरुद्धको यो अभियानले प्रशासनप्रतिको जनविश्वास पुनःस्थापना गर्ने र नागरिक अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। उनले राज्यलाई जनताप्रति उत्तरदायी बन्न आग्रहसमेत गरे।
ज्ञापनपत्रमा शान्तिपूर्ण तर प्रभावकारी ढंगबाट अभियानलाई सशक्त बनाउँदै जनचेतना फैलाउने, निगरानी टोली गठन गर्ने र आवश्यक परे जनपरिषद् सञ्चालन गर्ने योजना उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले वाई.सिएलको ज्ञापनलाई गम्भीरतापूर्वक लिएको र आवश्यक प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएको छ।
वाई.सिएलका अनुसार बारा जिल्लामा पनि देशव्यापी भ्रष्टाचारविरोधी अभियानलाई सघाउँदै जनचेतना र दबाब सिर्जना गरिँदैछ।

















