१९ साउन,हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि आधिकारिक रूपमा दाबी पेश गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयले केहीबेरअघि मात्र सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस नेता बानियाँले आवश्यक बहुमतको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
बानियाँको पक्षमा नेपाली कांग्रेसका ३७ जना र नेकपा (एमाले) का २७ जना सांसदको समर्थन रहेको छ। कुल ६४ जना सांसदको हस्ताक्षरसहित बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संयुक्त रूपमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई दाबी पत्र बुझाएका हुन्।
यसअघि गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीचको समिकरण टुटेपछि नयाँ राजनीतिक समीकरणमा कांग्रेस र एमाले एकत्रित भएका हुन्।
अब प्रदेश प्रमुख देवकोटाले संवैधानिक प्रक्रियाअनुसार बहुमत दाबी गरेका बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्ने अपेक्षा गरिएको छ।















