Logo

२१ साउन,महोत्तरी । लामो खडेरीको मार खेपिरहेको महोत्तरी जिल्लामा मनसुनी वर्षा सुरु भएसँगै धान रोपाइँले केही गति लिएको छ। तर, अब धानको बीउको अभावले गर्दा रोपाइँ कार्य थप प्रभावित हुन थालेको छ।

प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म जिल्लामा कुल खेतीयोग्य क्षेत्रको मात्र ४९ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ। साउन तेस्रो साताको अन्त्यसम्म आइपुग्दा वर्षा केही अनुकूल भए पनि बीउ नपुग्दा किसान निराश भएका छन्।

“अब पानी त आयो, बीउले धोका दियो” – किसान मुखिया
भङ्गाहा–४ रामनगरका किसान काशी विन मुखियाले सुरुमा पानीको अभावले रोपाइँ रोकिएकोमा अहिले खेत हिल्याउन पुगे पनि बीउ नपुगेर रोपाइँ अलपत्र परेको गुनासो गरे।

“सबै खेतमा अझै भरपर्दो पानी पुगेको छैन। कतिपय ठाउँमा सडक र कुलो सफा गरेर हिलो बनाएका छौँ। तर अब बीउको संकट सुरु भएको छ,“ उनले भने।
“ब्याडमै बीउ सुक्नाले अहिले हुर्कन सकेको छैन, अब बस्तीबस्ती बीउ खोज्दै हिँड्नुपरेको छ।“

खरुअन पनि असफल, बीउ फिर्ता हुर्कन कठिन
स्थानीय किसान इद्रिस कवारीका अनुसार खडेरीले गर्दा पहिले रोपिएको धान पनि राम्रोसँग गाँजिन सकेन। फलस्वरूप खरुअनका लागि आवश्यक बीउ पनि हुर्किएन।

“पानी अहिले जेनतेन भएको छ, तर बीउले सकस पार्दैछ। समयमै बीउ हुर्केन भने बाँकी खेत बाँझै रहन सक्छ,“ कवारीले चिन्ता व्यक्त गरे।

धानखेतीमा भारी असर, बीउ पुनर्जीवनमा समय लाग्ने कृषि अधिकृतको भनाइ
जिल्लाका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादवका अनुसार महोत्तरीमा कुल ७१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार हेक्टरमा धान खेती गरिँदै आएको छ।

“खडेरीका कारण रोपाइँ निकै पछि सरेको छ। पहिले ३० प्रतिशतमा मात्र रोपाइँ भएको थियो, अहिले ४९ प्रतिशतमा पुगेको हो,“ यादवले जानकारी दिए।
“बीउ ब्याडमै सुकेर मरेका छन्। वर्षा भएपनि ती बीउ फिर्ता हुर्कन समय लाग्छ।“

यादवका अनुसार अहिले किसान सडक, कुलो, इनार, स्यालोट्युवबेल र पम्पसेटको सहायताबाट पानी संकलन गरेर रोपाइँ गरिरहेका छन्। तर, बीउ उपलब्ध नभएसम्म बाँकी खेत रोप्न सकिने सम्भावना न्यून छ।

उत्तर क्षेत्रको रोपाइँमा केही गति, दक्षिणमा अझै ढिलाइ
महोत्तरीको सुदूरदक्षिणी र मध्य क्षेत्रहरूमा अझै वर्षा पर्याप्त नभएकाले रोपाइँ सुस्त भएको कृषि कार्यालयले जनाएको छ। उत्तरी क्षेत्रमा भने तुलनात्मक रूपमा वर्षा बढी भएकाले रोपाइँले त्यहाँ गति लिएको देखिएको छ।

कृषि विज्ञहरूका अनुसार पानी परिरहेको वर्तमान अवस्थामा अन्य बालीभन्दा धान खेती नै लाभदायक हुने भएकाले किसानहरू हरसम्भव उपायमार्फत रोपाइँमा जुटिरहेका छन्।


सम्बन्धित समाचार