२१ साउन,वीरगञ्ज ।मधेसमा यसपटक परेको चर्को खडेरीले किसानहरूलाई पुरानै परम्परागत संरचनामा फर्कन बाध्य बनाएको छ। पर्साको ठोरी गाउँपालिकामा झन्डै तीन दशकअघि निर्माण गरिएको घोडेमसान सिंचाई कुलोलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने प्रयास सुरु भएको छ।
खडेरीको पाठ र पुरानो संरचनाको महत्त्व
पर्साको सुवर्णपुरबाट करिब २३ किलोमिटर उत्तरतर्फ पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको घोडेमसान खोलामा बाँध बाँधेर तीन दशकअघि कुलो निर्माण गरिएको थियो। स्थानीय किसानले श्रमदान गरेर बनाएको यो कुलोले सुवर्णपुर क्षेत्रका सयौँ बिघा खेतमा सिंचाई सुविधा पुर्याउँदै आएको थियो। तर, केही वर्षअघि खोलामा आएको बाढीले कुलोको मुहान क्षतिग्रस्त भएपछि किसानहरू डिप बोरिङको भरमा खेती गर्न बाध्य भएका थिए।
यस वर्षको खडेरीले पानीको अभाव झनै चर्किएपछि स्थानीयहरूले पुरानै कुलोलाई मर्मत गर्ने सोच बनाएका छन्। स्थानीय युवा निरोज प्रधानले वर्षौंदेखि अलपत्र परेको कुलोको मुहान भेटिएपछि त्यसलाई सामान्य मर्मत गरी पुनः प्रयोग गर्न सकिने अवस्थाले आफूहरूमा आशा पलाएको बताए। उनी भन्छन्, “सिंचाईको दिगो भविष्य जमिनमाथि बग्ने खोला, कुलो र हरियालीसँगै जोडिएको रहेछ भन्ने कुरा फेरि महसुस गर्यौँ।”
गाउँपालिकाको पहल
स्थानीयको पहलपछि ठोरी गाउँपालिकाले पनि यसमा चासो देखाएको छ। गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले कुलोको अवस्था बुझ्न आफैँ त्यहाँ पुगेर अवलोकन गरेका छन्। उनले तत्कालै मर्मत कार्य सुरु गर्न गाउँपालिकाको जेसिबी पठाएका छन्। अध्यक्ष श्रेष्ठले घोडेमसान सिंचाई आयोजनालाई दिगो र स्थायी बनाउनका लागि प्रधानमन्त्रीसँग भेटेर सरकारी स्तरमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उनले घोडेमसान सिंचाई आयोजनाले खोला, कुलो, सिमसार र जंगल बचाउन सके मात्र खडेरीलाई जित्न सकिन्छ भन्ने उदाहरण दिएको बताए। यो आयोजना ठोरी गाउँपालिकाको सानो प्रयास भए पनि यसले ठूलो सपना बोकेको र ठोरीका साथै जिरा भवानी गाउँपालिकामा समेत सिंचाई पुग्न सक्ने उनको दाबी छ।
कम लागतमा दिगो समाधान
अध्यक्ष श्रेष्ठका अनुसार, एउटा डिप बोरिङ खन्न करिब १ करोड रुपैयाँ खर्च हुने गर्छ। तर, घोडेमसान सिंचाई आयोजनालाई एक करोड रुपैयाँले मात्रै पनि तत्काल किसानलाई सिंचाई सुविधा उपलब्ध गराउन सकिन्छ। उनले दीर्घकालीन रूपमा पक्की कुलो र बाँध निर्माण गर्न पनि ठूलो लगानी नलाग्ने भएकाले यसले खडेरीग्रस्त ठोरीलाई नयाँ जीवन दिने विश्वास व्यक्त गरे।
अध्यक्ष श्रेष्ठले भने, “जहाँबाट पानीको कथा सुरु हुन्छ, त्यही खोलामा बाँध बाँधेर कुलो र हरियाली फिर्ता ल्याउने यात्रामा हामी अगाडि बढिसकेका छौँ।” उनले यो आयोजना सम्पन्न गर्न तीनै तहका सरकारको सहमति र सहकार्य आवश्यक भएकोमा जोड दिए।

















