Logo

२३ साउन, वीरगञ्ज । मधेश प्रदेशमा हालको वर्षाले किसानलाई ठूलो राहत मिलेको छ भने धान रोपाइँको काम तीव्र गतिमा अघि बढेको छ ।

कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लामा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । लामो समयको खडेरीपछि साउन १६ गतेदेखि परेको वर्षाले रोपाई कार्यले गति लिएको केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए ।

सिम्रौनगढ नगरपालिका–८, कर्चोवाका किसान रामबहादुरप्रसाद यादवका अनुसार वर्षापछि गाउँका किसान खेतमै व्यस्त छन् ।

जिल्लामा भदैया र अगनीलगायत जातका बर्खे धान ४६ हजार हेक्टरमा लगाउने लक्ष्य राखिएको छ । हालसम्म ९० प्रतिशत रोपाइँ सकिएको र बाँकी १० प्रतिशत यसै साताभित्र पूरा हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश महराले बताए ।

सरकारले बारा सहित मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी भूमिगत सिँचाइ सहयोग कार्यक्रम सञ्चालन गरेको थियो, जसअन्तर्गत सात दिनमा दुई हजार ३ सय ९८ किसानले आवेदन दिएका थिए ।

यसैबीच, पर्सा जिल्लामा पनि चार दिनदेखि लगातार वर्षा भएपछि ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । बाँकी क्षेत्रमा केही दिनमै रोपाइँ हुने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले जानकारी दिए । उनका अनुसार हालसम्म पर्सामा ३६ हजार ५५३ हेक्टरमा धान रोपाइँ सकिएको छ ।


सम्बन्धित समाचार
भर्खरै