Logo

६ भदौ, काठमाडौं । लामो छलफलपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार फरक मतसहित पारित गरेको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ आज प्रतिनिधिसभामा पेस हुँदैछ ।

संसद सचिवालयका अनुसार, दिउँसो १ बजे बस्ने बैठकमा समिति सभापति कुसुमदेवी थापाले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । यो विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राखेका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक पेस भए पनि आजै छलफल हुने सम्भावना नरहेको जानकारी दिए । संसदीय नियमावलीअनुसार, सभामुखले अन्यथा आदेश नदिएसम्म समितिबाट पेस भएका प्रतिवेदनहरूमाथि २४ घण्टापछि मात्रै छलफल हुन्छ ।

यसैबीच, बिहीबार नै फरक मतसहित पारित भएको विद्यालय शिक्षा विधेयक २०८० को प्रतिवेदन भने सचिवालयमा आइनपुगेको प्रवक्ता गिरीले बताए । यद्यपि, बैठकअघि प्रतिवेदन आएमा त्यसलाई पनि पेस गर्न समस्या नहुने उनको भनाइ छ ।

 


सम्बन्धित समाचार