Logo

६ भदौ, काठमाडौं । मिटरब्याजी धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले कविराज कटुवाललाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकका ३४ वर्षीय कटुवालले एकै व्यक्तिबाट ४ करोड ८६ लाख ९३ हजार रुपैयाँभन्दा बढी रकम असुलेको आरोप लागेको छ । उनलाई भदौ ३ गते मकवानपुरको हेटौँडाबाट पक्राउ गरी ललितपुर ल्याइएको हो ।

कसरी सुरु भयो मिटरब्याजी धन्दा?

चार वर्षअघि बौद्धमा कपडा व्यवसाय गर्ने एक युवकसँग कटुवालको चिनजान भयो । कटुवालले सामाजिक सञ्जालमा प्रधानमन्त्री, गृहमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिसँगका फोटो पोस्ट गर्ने भएकाले ती युवकले उनलाई विश्वास गरे । व्यवसाय चलाउन आर्थिक समस्या भएपछि ती युवकले कटुवालसँग ऋण मागे । २०८० सालको वैशाखमा कटुवालले उनलाई १ करोड ४० लाख रुपैयाँ ऋण दिए ।

४ करोड बुझाउँदा पनि धम्की जारी

युवकले कटुवाललाई पटक–पटक गरी ४ करोड ८६ लाख ९३ हजार रुपैयाँ बुझाइसकेको दाबी गरेका छन् । तर, कटुवालले अझै रकम माग गर्दै धम्की दिएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् । कटुवालले साउन २२ गते पीडितको बा२०च ५२० नम्बरको गाडी कब्जा गर्नुका साथै धम्की दिएर ५ लाख ५० हजारको चेक समेत लिएका थिए ।

८ जनाको खाता प्रयोग, ६० लाख नगद असुली

प्रहरी अनुसन्धानका क्रममा कटुवालले मिटरब्याजको रकम असुल्न आफूसहित अन्य ८ जनाको बैंक खाता प्रयोग गरेको खुलेको छ । पीडितले ६० लाख रुपैयाँ नगद धोबीघाटमा बुझाएको र बाँकी रकम कटुवाल तथा उनका मान्छेहरूको खातामा जम्मा गरिदिएको बताएका छन् । हाल प्रहरीले कटुवाललाई अनुचित लेनदेन कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । यद्यपि, कटुवालले भने बैंक खातामा रकम जम्मा भएकोबारे आफूलाई थाहा नभएको दाबी गरेका छन् ।

पीडितले पैसा जम्मा गरेका केही खाताहरू

कविराज कटुवालको एभरेष्ट बैंक र कुमारी बैंकको खातामा १ करोड ७१ लाख ६० हजार रुपैयाँ , पशुपति कटुवाल क्षेत्रीको नाममा गरिमा विकास बैंक र एभरेष्ट बैंकमा ३२ लाख ८० हजार रुपैयाँ, मञ्जु भण्डारी, भीमराज गिरी, शिवमाया गिरी, शरद प्रताप सिंह, सलिना कटुवाल, विक्रम सिंह गुरुङ र तिलकराम राई लगायतका व्यक्तिको खातामा पनि विभिन्न रकम जम्मा गरिएको छ ।

 


सम्बन्धित समाचार