Logo

६ भदौ, काठमाडौं । नेपालले भारतमा बिजुली निर्यात गर्ने आफ्नो क्षमतामा थप वृद्धि गरेको छ ।

भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको हो । यो नयाँ स्वीकृतिका साथ नेपालको कुल निर्यात क्षमता १ हजार ९० दशमलव ९ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, भारतले ४८ दशमलव ५ मेगावाटको मेवा खोला र ३१ दशमलव ०४ मेगावाटको करुवा सेती जलविद्युत आयोजनाबाट उत्पादित बिजुली निर्यातका लागि अनुमति दिएको हो । यो अनुमतिसँगै अब नेपालले बंगलादेशलाई निर्यात गरिरहेको ४० मेगावाट बिजुलीसमेत गरी कुल १ हजार १३० दशमलव ९ मेगावाट बिजुली निर्यात गर्न सक्नेछ ।

निर्यात क्षमतामा निरन्तर वृद्धि

भारतले पहिला ८१० दशमलव ९ मेगावाट बिजुली खरिद गर्न अनुमति दिएको थियो । साउन २६ गते थप २०० मेगावाटको स्वीकृति दिइएको थियो । यसमा लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोला आयोजनाहरूबाट उत्पादित बिजुली समावेश थिए । अहिले थप ८० मेगावाटको स्वीकृति मिलेको छ । नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौताअनुसार, यी आयोजनाहरूको बिजुली आगामी अक्टोबर ३१, २०२६ सम्म निर्यात गर्न पाइनेछ । गत आर्थिक वर्ष २०८१र०८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो । यस वर्ष थप निर्यात अनुमतिहरू प्राप्त भएकाले चालू आर्थिक वर्षमा निर्यात दोब्बर हुने अनुमान प्राधिकरणले गरेको छ ।

नेपालले वर्षायाममा बिजुली बिक्री गर्ने र सुख्खायाममा भारतबाटै खरिद गर्ने नीति अपनाउँदै आएको छ ।


सम्बन्धित समाचार