Logo

२१ फागुन,वीरगञ्ज । वीरगञ्जको कृषि ज्ञान केन्द्रमा विगत लामो समयदेखि कर्मचारीको अभाव भएको छ । मधेस प्रदेश सरकारको मातहत रहेको सोे कार्यालयमा दरबन्दीको चार भागमध्ये एक भागपनि कर्मचारी नहुँदा कार्यालयमा हाल कार्यरत कर्मचारीलाई भ्याईनभ्याई भएको हो ।

१५ जनाको दरबन्दी भएको कार्यालयमा २ जना प्राविधिक जनशक्तिसहित ४ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतको १, कृषि अर्थविज्ञ, बाली विकास अधिकृत, बाली संरक्षण अधिकृत, कृषि प्रसार अधिकृत, बागवानी विकास अधिकृतको क्रमशः १÷१ दरबन्दी छ ।

त्यस्तै प्राविधिक सहायकमा ३, लेखापाल १, खरिदार १, कार्यालय सहयोगी ३ र हलुका सवारी चालक १ जनाको दरबन्दी रहेको छ । दरबन्दीमध्ये वरिष्ठ कृषि विकास अधिकृतका रूपमा कार्यालय प्रमुख मुनिलाल कुशवाहा कार्यरत हुनुहुन्छ । त्यस्तै कार्यालय सहयोगी ३ जना मध्ये १ जना स्थायी र १ जना करारका छन् । एक हलुका सवारी चालक पनि करारमै हुनुहुन्छ ।

कार्यालय प्रमुख कुशवाहाले बाली संरक्षण, योजना, बागवानी बिकास अधिकृतहरू नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या भएको जानकारी दिनुभयो । उहाँले कतिपय कर्मचारी सरुवा भएर, कतिपयले अवकाश पाएको बताउनुभयो ।

लेखापालसमेत नहुँदा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल बेलाबेलामा आएर काम गर्ने उहाँको भनाई छ । बाली संरक्षण अधिकृत नहुँदा विषादी पसल खोल्न इजाजत दिने एवम् त्यस्ता पसल नवीकरण गर्ने काम पनि ठप्प रहेको उहाँले बताउनुभयो । सीमित जनशक्तिका कारणले कार्यालयको जिम्मेवारीको सबै काम गर्न आफूहरूलाई भ्याईनभ्याई भएको उहाँले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार