२५ भदौ, काठमाडौं । जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन काठमाडौंका सडकमा नेपाली सेना गस्तीमा खटिएको छ। मंगलबार दिनभर चलेको प्रदर्शनमा भौतिक संरचनामा क्षति भएपछि राति १० बजेदेखि सेना र अन्य सुरक्षा निकायहरू परिचालित भएका हुन्।
सडक र गल्लीमा पैदल वा सवारीसहित निस्किएका सर्वसाधारणलाई सेनाले विना काम घरमै बस्न आग्रह गरेको छ। अत्यावश्यक काम वा आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई भने सोधपुछ र परिचयपत्र देखाएपछि मात्र आवतजावत गर्न दिइएको छ।
आन्दोलनकारीहरूले आगजनी गरेको संसद भवनमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ। यस्तै, अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेनासहित सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ।
सुरक्षा निकायहरूले जनतालाई संयमता अपनाउन र शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न अपिल गरेका छन्।















