२५ भदौ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा आगजनी भएको घटनापछि एक जनाको शव फेला परेको छ।
ललितपुर महानगरपालिका–२६, सुनाकोठीस्थित दाहालको घरमा मंगलबार जेन–जी आन्दोलनका प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। घटनास्थलमा जलेको अवस्थामा एक पुरुषको शव भेटिएको ललितपुरका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।
“शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको छ, पहिचान खुल्न बाँकी छ,” एसपी अधिकारीले भने।
आगलागीपछि घरमा ठूलो क्षति पुगेको छ। घटनास्थलमा नेपाली सेना र सशस्त्र प्रहरी परिचालित छन् भने फरेन्सिक टोली परिचालन गरी घटनाको अनुसन्धान सुरु गरिएको छ।
यसबारेमा दाहाल परिवार वा माओवादी केन्द्रले औपचारिक प्रतिक्रिया दिइसकेको छैन। गंगा दाहालको घर सोही आन्दोलनका क्रममा लक्षित बनेको बताइएको छ।
प्रदर्शन चर्किँदै गइरहेका बेला पूर्वप्रधानमन्त्रीको पारिवारिक सम्पत्तिमाथि भएको आक्रमणलाई गम्भीर राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ।

















