२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको दोष नव–पुस्ता (जेन–जी) लाई नथोपार्न आग्रह गरेकी छन्। उनले भ्रष्ट सत्ताव्यवस्थाविरुद्ध युवाहरूले गरेको विद्रोहलाई ऐतिहासिक परिवर्तनको संकेत भन्दै नयाँ नेपालको नेतृत्व जिम्मा पनि त्यही पुस्तालाई दिनुपर्ने धारणा राखेकी छन्।
“सबैमा आग्रह गर्न चाहन्छु,” कार्कीले भनिन्, “सम्पूर्ण क्षति र विनाशको दोष आजसम्म देशलाई भ्रष्टहरूले लुटेर, नव युवाहरूलाई जीवनको बाजी राखेर देश रक्षाको लागि क्रान्तिमा होमिन बाध्य बनाउने तपाईँ–हामी सबै नेपालीले लिनुपर्छ।”
उनको भनाइमा, अब देशको नेतृत्व, अन्तरिम सरकार गठन, र भावी समृद्ध नेपाल निर्माणको अवसर र श्रेय जेन–जी पुस्तालाई दिनुपर्ने समय आएको छ।
‘विदेशी हस्तक्षेपबाट देश जोगाउनुपर्छ’
कार्कीले आन्दोलनलाई राजनीतिकरण गर्न र बाहिरी घुसपैठ गराउने प्रयासप्रति पनि सचेत गराएकी छन्। उनले सबै नेपालीलाई आन्तरिक एकता कायम गर्दै देशलाई विदेशी तत्वबाट जोगाउन आग्रह गरिन्।
“कृपया कसैले पनि घुसपैठ र राजनीतिकरण नगरिदिनुहोला,” भन्दै उनले भनिन्, “जेन–जी पुस्ता संयमित भएर, सुरक्षित रहेर, जिम्मेवार भएर तपाईंहरूले देख्नुभएको, खोज्नुभएको नयाँ नेपाल निर्माण गर्ने नेतृत्व लिनुहोस्।”
सबै दललाई सहयोग गर्न आह्वान
उनले कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपालगायत सबै राजनीतिक शक्तिहरूलाई नयाँ नेपालको निर्माणमा सकेको सहयोग गर्न आह्वान गरिन्।
“नयाँ नेपाल निर्माणमा म सधैँ तपाईंहरूसँगै इमानदार भएर उभिनेछु। जसरी तपाईंहरूले दुई दिनमै भ्रष्टहरूको पञ्जाबाट देशलाई आजाद बनाउनुभयो,” उनले भनिन्।
डा. तोसिमा कार्कीको यो धारणा देशमा चलिरहेको जेन–जी आन्दोलन र राजनीतिक संक्रमणको सन्दर्भमा आएको हो, जहाँ हजारौं युवा नयाँ शासकीय संरचना, चुनाव प्रणाली, र नेतृत्व परिवर्तनको मागसहित सक्रिय छन्।

















