Logo

२६ भदौ, काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा देशभर भएका हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु भएको छ भने एक हजार ६१ जना घाइते भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार घाइतेमध्ये केही अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरका २९ अस्पतालबाट संकलित विवरणअनुसार ३० जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २, त्रिवि शिक्षण अस्पतालमा १, फ्रन्टलाइन अस्पतालमा ३, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ र भेरी अस्पतालमा ५ जना रहेका छन् ।

यसैबीच, एक हजार ६१ घाइतेमध्ये हालसम्म ७१९ जना उपचारपश्चात् घर फर्किएका छन् भने २७४ जना अझै अस्पतालमै भर्ना भएर उपचाररत छन्।

सचिव डा. देवकोटाका अनुसार अहिले निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, वीर अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा २४ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना घाइते उपचार गराइरहेका छन् ।

सबैभन्दा धेरै उपचारको दबाब निजामती कर्मचारी अस्पतालमा परेको छ, जहाँ ४३६ जना घाइते उपचारमा परेका थिए। त्यस्तै, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जना घाइतेको उपचार गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हिंसात्मक प्रदर्शनका घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताएको छ।


सम्बन्धित समाचार