२६ भदौ,काठमाडौं । जेन–जी समूहहरूको साझा समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषयमा छलफल सुरु भएको छ। जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालयमा आज बिहानदेखि सुरु भएको वार्तामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र सुशीला कार्की सहभागी छन्।
विश्वस्त स्रोतका अनुसार, यो छलफलले नेपालको आगामी अन्तरिम सरकारको संरचना, नेतृत्व र कार्यदिशाको खाका तयार गर्ने अपेक्षा गरिएको छ।
शुरुआतमा जेन–जी समूहहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका थिए। तर, शाहले उक्त जिम्मेवारी लिन अस्वीकार गरेपछि समूहले पूर्व प्रधानन्यायाधीश कार्कीको नाम अघि सारेका हुन्। मेयर शाहले पनि कार्कीको नाममा समर्थन जनाएका छन्।
सूत्रका अनुसार अन्तरिम सरकारमा सहभागी हुने अन्य सम्भावित नामहरूमाथि पनि छलफल हुने तयारी छ। जेन–जी समूहका प्रतिनिधिहरू र मेयर बालेन शाह पनि छलफलमा सहभागी हुने अपेक्षा गरिएको छ।
राजनीतिक अन्योलका बीच सुरु भएको यो प्रक्रिया निकट भविष्यमै अन्तरिम सरकार गठनतर्फको ठोस कदमका रूपमा हेरिएको छ। यसले मुलुकको संक्रमणकालीन अवस्थालाई निकास दिने सम्भावनालाई बल पुग्ने विश्लेषण गरिँदैछ।

















