२६ भदौ, काठमाडौं । जेन–जी आन्दोलनमा सक्रिय ‘हामी नेपाल’ समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा प्रस्तावित अन्तरिम मन्त्रिमण्डललाई समर्थन गर्ने जनाएको छ। पत्रकार सम्मेलन गर्दै समूहले संसद् विघटनलाई आफ्नो मुख्य राजनीतिक एजेण्डा बनाएको स्पष्ट पारेको छ।
समूहका अध्यक्ष सुदन गुरुङले पत्रकारहरूलाई सम्बोधन गर्दै “पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ व्यवस्था अघि बढाउने प्रस्तावमा धेरैको सहमति जुटिसकेको” बताए। उनले भने, “हामी उहाँको नेतृत्व मान्न तयार छौँ। अब संसद् विघटन गरेर मात्रै नयाँ मार्गचित्र अघि बढ्न सक्छ।”
गुरुङका अनुसार जेन–जी पुस्ताको नेतृत्वमा बन्ने मन्त्रिमण्डलले आम जनताको प्रतिनिधित्व गर्नेछ, र त्यसको निगरानी पनि यही पुस्ताले गर्नेछ। “हामी अनुकूल हुने नेतृत्व संरचना बनाउनेछौं, जुन पारदर्शी र उत्तरदायी हुनेछ,” उनले स्पष्ट पारे।
यसअघि नेपाली सेनाका प्रधानसेनापति लगायत सरोकारवाला निकायसँग भएका छलफलमा ‘हामी नेपाल’ समूहका प्रतिनिधिहरू पनि सहभागी थिए।
गुरुङले मन्त्रिमण्डल निर्माण, कार्यविभाजन तथा संवैधानिक प्रक्रियाहरूको विषयमा अझै छलफल जारी रहेको जानकारी पनि दिए।
‘हामी नेपाल’ समूहको यो औपचारिक धारणा सार्वजनिक भएसँगै देशमा राजनीतिक संक्रमणको नयाँ चरण सुरु भएको विश्लेषण हुन थालेको छ।

















