२८ भदौ,काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति द्वारा संविधानको प्रावधान विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको र त्यसपछि प्रतिनिधि सभा विघटनको सिफारिस सदर गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै कडा विरोध गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको कदमलाई “अलोकतान्त्रिक र असंवैधानिक” भन्दै घोर निन्दा र भर्त्सना गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो। यसबाट जनमतको अपमान भएको छ।”
महासंघले जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचार, बेथिति र सुशासनका मागहरू संविधानको दायराभित्र रहेर सम्बोधन गर्न सकिने अवसर मुलुकले गुमाएको टिप्पणी गरेको छ। यस्ता कदमहरू लोकतान्त्रिक अभ्यासको विरोधमा रहेको महासंघको ठहर छ।
“सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
महासंघले संविधानको रक्षा र नागरिक सर्वोच्चताको पक्षमा एकजुट भई आवाज उठाउन सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान समेत गरेको छ।

















