Logo

२८ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन–जी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको अवस्था बुझ्न शनिबार सिभिल अस्पताल पुगेकी छन्।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की शनिबार बिहान काठमाडौं मीनभवनस्थित सिभिल अस्पताल पुगेर आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेकी हुन्। उनले चिकित्सकहरूबाट उपचारको अवस्थाबारे जानकारी लिएको र पीडित तथा उनीहरूका परिवारहरूसँग संवाद गरेकी छन्।

यसअघि प्रधानमन्त्री कार्कीले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई पनि भेटेकी थिइन्।

प्रधानमन्त्री कार्कीले अस्पताल भ्रमणपछि जेन–जी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वर प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्तको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोटेश्वरमा भएको आगजनीमा केही सुरक्षाकर्मीको मृत्यु भएको थियो।

जेन–जी आन्दोलनमा हालसम्म ५१ जनाले ज्यान गुमाएका छन् भने सयौं प्रदर्शनकारीहरू विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रधानमन्त्री कार्कीले आन्दोलनबाट उत्पन्न मानवीय पीडालाई सम्बोधन गर्न राज्य जिम्मेवार ढंगले अघि बढ्ने सन्देश दिने उद्देश्यले अस्पताल र घटनास्थल निरीक्षण थालेकी हुन्।


सम्बन्धित समाचार