२८ भदौ, पोखरा । जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको आगजनीमा गम्भीर घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा मृत्यु भएको छ।
तनहुँ भररपुर–१० निवासी ४३ वर्षीय विजय लामाको शनिबार बिहान १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका अनुसार, उनी शरीरको करिब ७० प्रतिशत भाग जलेर गम्भीर अवस्थामा भर्ना गरिएका थिए।
लामा पोखरा–१६ बसोबास गर्दै आएका थिए भने कतिपयलाई शुक्लागण्डकी–११ स्थायी ठेगाना बताएका थिए।
प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा भित्रै घाइते भएका लामालाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो।
प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले कास्कीका अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका थिए। उनीहरू डोजरसहित जिल्ला प्रहरी कार्यालयमा प्रवेश गरेका थिए भने प्रहरी पक्षले भवन छाडिसकेको थियो।
घटनामा लुटिएको केही हतियार फेला परेको भए पनि केही अझै हराइरहेको कास्की प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयभित्रै डोजर लिएर प्रवेश गरेका अर्का एक युवालाई गोली लागेको छ र उनको पोखरामा नै उपचार भइरहेको छ।
यसअघि प्रदर्शनकारीहरूले रत्नचोकस्थित अभि इक्युपमेन्ट डिभिजन कार्यालयबाट डोजर, लोडर, स्काभेटर र टिप्पर निकालेर सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए। पोखराका प्रमुख सरकारी निकायहरू प्रदर्शनकारीको निशानामा परेका छन्।

















