Logo

२९ भदौ,काठमाडौं ।गत बिहीबार नेपाली सेनाको मुख्यालयअगाडि जेन-जी आन्दोलनको नाममा भएको कुटाकुटको विवाद सेलाउन नपाउँदै, आइतबार फेरि रिपोर्टर्स क्लबमा उस्तै दृश्य देखिएको छ। जेन-जी आन्दोलनका स्वयंघोषित नेता सुदन गुरुङको पत्रकार सम्मेलन कुटाकुटमै परिणत भएको छ।

रिपोर्टर्स क्लबमा ऋषि धमलाको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सुदन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भएपछि तनाव चुलिएको थियो। पत्रकार किशोर श्रेष्ठले वृद्ध प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको असफलतालाई लिएर आक्रोश पोख्दा, गुरुङ पनि उत्तेजित हुँदै पत्रकारमाथि औंलो ठड्याउँदै जङ्गिए।

भनाभन चर्किएपछि भिडन्तको अवस्था बनेको हो। परिस्थिति बिग्रँदै गएपछि सुरक्षाका लागि प्रहरीले सुदन गुरुङलाई क्लबबाट बाहिर निकालेको थियो।

प्रेम लामा फेरि विवादमा

घटनामा झनै ध्यान तानेका पात्र थिए प्रेम लामा — जसलाई सामाजिक सञ्जालमा ‘टाइगर डन’ भनेर चिनिन्छ। उनी यसअघि पनि नेपाली सेनाको मुख्यालयअगाडि जेन-जी आन्दोलनको नाममा भएको कुटपिट घटनामा संलग्न रहेको आरोप लागेको थियो।

रिपोर्टर्स क्लबको आइतबारको घटनामा पनि प्रेम लामा अग्रपंक्तिमा देखिए। हलभित्र भएको भनाभनले ठेलाठेल र कुटाकुटको रूप लिंदा लामा पत्रकार र युट्युबरहरूसँग जुध्न पुगे। भिडन्तका क्रममा उनी मञ्चतर्फ अघि बढ्दै गरेको दृश्य भिडियोमा देखिएको छ।

एक पत्रकारसँगको विवादबाट सुरु भएको झडप हात हालाहाल र लात्ती मुक्कासम्म पुगेको थियो। पत्रकारहरूको भीडबाट लखेटिँदै प्रेम लामा भुइँमा ढलेका थिए र केही बेर पछि उनी च्यातिएको लुगासहित भृकुटीमण्डप परिसरबाट गायब भए।

राजनीतिक पृष्ठभूमि र ‘क्यामेरा मोह’

प्रेम लामाले आफ्नो फेसबुक प्रोफाइलमा आफूलाई अनेरास्ववियुका केन्द्रीय सदस्य र नेकपा एमालेको विद्यार्थी संगठनको विशेष जिल्ला कमिटीमा रहेको दाबी गरेका छन्। तर पछिल्ला दिनमा उनी निरन्तर जेन-जी आन्दोलनको अग्रभागमा देखिँदै आएका छन्।

उनको सामाजिक सञ्जालको गतिविधि हेर्दा, उनी क्यामेराको अगाडि अनुहार देखाउन उत्सुक, ऋषि धमलाको शैलीमा सार्वजनिकता खोज्ने खालका देखिन्छन्।

गत भदौ ४ गतेसम्म एमालेका कार्यक्रमहरूमा सहभागी हुने पोस्टहरू गरेका प्रेमले अहिले भने जेन-जीको भिडमा उठेका भिडियोहरू फेसबुकमा निरन्तर पोस्ट गरिरहेका छन्।

पुलिस हस्तक्षेप आवश्यक

रिपोर्टर्स क्लबजस्तो संवेदनशील स्थानमा कुटाकुटको अवस्था सिर्जना हुनु र हिंसात्मक भिडन्त बारम्बार दोहोरिनु पत्रकारिता र नागरिक स्वतन्त्रताको दृष्टिले चिन्ताजनक छ। यस घटनाको निष्पक्ष छानबिन र सम्बद्ध पक्षमाथि कारबाहीको माग भइरहेको छ।


सम्बन्धित समाचार