Logo

३० भदौ,वीरगञ्ज । गत साता वीरगञ्जमा भएको जेनजी समूहद्वारा आयोजित आन्दोलन हिंसात्मक मोड लिँदै घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालयमा ठूलो क्षति पु¥याएको छ। अराजक भीडद्वारा गरिएका तोडफोड र आगजनीका कारण टेलिकमलाई करिब तीन करोड रुपैयाँ बराबरको नोक्सानी पुगेको छ।

नेपाल टेलिकम वीरगन्जका प्रमुख पंकज साहका अनुसार प्रदर्शनकारीहरूको पहिलो निशाना टेलिकमकै कार्यालय बनेको थियो। उनले भने, “अराजक समूहले कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण उपकरणमा तोडफोड गर्नुका साथै आगजनी गर्दा महसुल काउन्टरमा विशेष क्षति पुगेको छ।”

प्रदर्शनकारीले घण्टाघर क्षेत्रका दुवै टेलिकम कार्यालयमा आगजनी गरेका थिए, जसको प्रत्यक्ष असर सेवासम्प्रेषणमा परेको टेलिकम स्रोतले जनाएको छ।

यसैबीच, पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले आन्दोलनका क्रममा भएको क्षतिको पारदर्शी मूल्याङ्कन गरी मुचुल्का तयार गर्न निर्देशन दिएका छन्। उनले भने, “जेनजी समूहको आन्दोलनका क्रममा सरकारी भवन र सवारीसाधनमा अपूरणीय क्षति पुगेको छ। मुचुल्का तयार गर्दा श्रव्यदृश्य प्रमाणसहित व्यवस्थित र यथार्थपरक बनाउन आग्रह गरिएको छ।”

वीरगञ्ज महानगरपालिका, आन्तरिक राजस्व कार्यालय लगायतका अन्य सरकारी निकायहरूमा पनि ठूलो क्षति पुगेको जनाइएको छ। यतिबेला घटनास्थलमा सुरक्षाकर्मीहरू परिचालन गरिएकाले स्थिति नियन्त्रणमा आएको बताइएको छ।

सरकारी सम्पत्तिमा भएको यस प्रकारको आक्रमणप्रति आम नागरिक र सरोकारवाला निकायहरूले चिन्ता व्यक्त गरेका छन् भने दोषी पहिचान गरी कानुनी कारबाहीको माग समेत गरिएको छ।


सम्बन्धित समाचार