Logo

४ असोज,सिमकोट । भदौ २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनमा सहभागी भएका हुम्ला नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्।

हाल काठमाडौंको तीनचुलीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय तामाङ आन्दोलनमा सहभागिता जनाएपछि घर नफर्किएको उनका बुबा टसी छिरिङ तामाङले जानकारी दिएका छन्। उनका अनुसार थुक्तेन भदौ २३ गते प्रदर्शनमा सहभागी भएर कोठा फर्किएका थिए, तर भोलिपल्ट २४ गतेको प्रदर्शनमा सहभागी भएपछि भने कोठा नफर्की बेपत्ता भएका हुन्।

बुबाका अनुसार थुक्तेन काठमाडौंमा होटेलमा काम गर्दै आएका थिए। भदौ २४ गते बिहानको सिफ्ट सकाएर दिउँसो २ बजे कोठामा आएर बौद्धमा आयोजना गरिएको जेनजी आन्दोलनमा सहभागी हुन गएका थिए। त्यसपछि उनी कहिल्यै कोठामा फर्किएनन्।

एघार दिनदेखि काठमाडौंका विभिन्न स्थानमा खोजी गर्दा पनि कतै अत्तोपत्तो नभेटिएको भन्दै बुबाले चिन्ता व्यक्त गरेका छन्। घटनापछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले सार्वजनिक सूचना जारी गर्दै तामाङको खोजीमा सहयोग गर्न अपिल गरेका छन्।

समाजले ३ असोज बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै घटनाको गम्भीर अनुसन्धान गरी शीघ्र खोजी गर्न सरकारसँग माग गरेको अध्यक्ष लामाले जानकारी दिए।
थुक्तेन पाल्वर तामाङले नारायनथान गुम्बामा लामा ज्ञान अध्ययन सकेपछि काठमाडौंको तीनचुलीमा भतिजोसँग बस्दै आएका थिए। उनका दुई छोरामध्ये उनी कान्छो छोरा हुन्।

परिवार, समाज र स्थानीय निकायले गम्भीर चासो व्यक्त गर्दै बेपत्ता तामाङको सकुशल उद्धारको माग गरेका छन्।


सम्बन्धित समाचार