Logo

४ असोज, काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरुले आफूहरुले दिएको बलिदानलाई राजनीतिमा स्वार्थपूर्ति गर्न प्रयोग नगरियोस् भन्ने स्पष्ट सन्देश दिएका छन्। शनिबार काठमाडौंमा संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले आन्दोलन आफ्नो स्वार्थको लागि नभइ देशमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि गरिएको बताए।

अछामका घाइते आदित्य रावलले सरकारप्रति आक्रोश व्यक्त गर्दै भने, “हामी कसैलाई कुर्सीमा पुर्‍याउन आन्दोलनमा होमिएका थिएनौं। हाम्रो बलिदान समाज रुपान्तरणका लागि थियो।” उनले सहिद परिवार र घाइतेको जीविकोपार्जनका लागि ठोस सरकारी कार्ययोजना आवश्यक रहेको भन्दै हालसम्मको सरकारी सहयोग अपुग र प्रभावहीन रहेको गुनासो गरे।

त्यस्तै, घाइते गोकर्ण विस्ट (गुल्मी) र सुरेश ऐडी (हुम्ला) ले त्रासपूर्ण वातावरण मा बस्नुपरेको उल्लेख गर्दै राज्यले उपचार मात्र होइन, भयरहित वातावरण सुनिश्चित गर्नुपर्ने माग गरे।

घाइते प्रकाश विष्टकी दिदी दुर्गा विस्टले आन्दोलनमा बगेको रगत खेर जाने अवस्था आयो भने पुनः सडकमा उत्रन बाध्य हुने चेतावनी दिइन्। “हाम्रो रगत राजनीति गर्न होइन, देश बनाउन बगेको हो,” उनले भनिन्।

कार्यक्रममा सरस्वती रावलले अस्पतालका बेडमै आफ्ना आफन्तको रगत खेर जान्छ कि भन्ने चिन्ता व्यक्त गरिन्। पूर्णबहादुर भण्डारीले पनि जेनजी पुस्ताको आन्दोलन देश रुपान्तरणको लागि भएको भन्दै सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए।

जेनजी आन्दोलनकी अगुवा सुप्रिया नेपालीले आन्दोलनका मागहरुमा विज्ञ सरकार गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शिक्षा-स्वास्थ्य निःशूल्क, तथा २०४६ यता राजनीतिमा आएका व्यक्तिहरुको सम्पत्ति छानबिन लगायतका विषय समेटिएको जानकारी दिइन्। उनले माग पूरा नभए आन्दोलन निरन्तर जारी रहने चेतावनी दिइन्।

आन्दोलनका अर्का अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्न गरिएको दाबी गर्दै सरकारकै आदेशमा गोली चलाइएको दाबी गरे। “यदि सरकारले आदेश दिएको होइन भने, गोली कसले हान्यो? तत्काल छानबिन होस्,” उनले माग गरे।

उनले भ्रष्टाचार, कुशासन विरुद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रेको भन्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणालीको पक्षमा संविधान संशोधनको मागसमेत गरे।

कार्यक्रममा घाइते पत्रकार प्रेमराज राईका दाजु पत्रकार चन्द्र ओमबुलेले घाइते पत्रकारको बेवास्ता भएको भन्दै सरकारप्रति रोष व्यक्त गरे।


सम्बन्धित समाचार