Logo

८ असोज, काठमाडौं । हालैका राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनको प्रभावपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजनीतिक, सांगठनिक र वैचारिक पुनर्गठनको आवाज उठेको छ ।

मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीलाई सुदृढ बनाउन अर्ली महाधिवेशन वा विस्तारित बैठक बोलाउनुपर्ने प्रस्ताव राखेका छन् ।

अर्ली महाधिवेशन वा विस्तारित बैठकको आवश्यकता

नेता सन्तोष परियार, पुकार बम र गणेश कार्की लगायतले बैठकमा पार्टी पुनर्गठन अनिवार्य रहेको बताएका छन् । नेता परियारले विशेषगरी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मंसिरमा नै महाधिवेशन वा विस्तारित बैठक गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । परियारले दुईवटा विकल्प प्रस्तुत गरेका छन् । मंसिरमा अर्ली महाधिवेशन गर्ने र महाधिवेशन सम्भव नभए विस्तारित बैठक आयोजना गर्ने उनले गरेको प्रस्ताव हो । यसअघि रास्वपाले आफ्नो पहिलो महाधिवेशन फागुन ७, ८ र ९ गतेका लागि तय गरेको थियो ।

वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्ने प्रस्ताव

परियारले विस्तारित बैठकले पार्टीको सचिवालय, केन्द्रीय समिति र पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्न सकिने पनि बताए । यसका साथै, उनले छरिएर रहेका अन्य वैकल्पिक शक्तिहरूलाई रास्वपाको नेतृत्वमा एकीकृत गर्नुपर्ने धारणा पनि राखेका छन् ।

बैठकमा अन्य केन्द्रीय सदस्यहरूले पनि हालको जेनजी आन्दोलन र त्यसले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै पार्टीले आफ्नो रणनीति सोही अनुसार बनाउनुपर्नेमा जोड दिएका छन् । प्रवक्ता मनिष झाका अनुसार, बाँकी सदस्यहरूले धारणा राखिसकेपछि आज  बैठक सकिनेछ।


सम्बन्धित समाचार